एजेन्सी – कोरोना भाइरसको संक्रमण विश्वभर नै बढ्न थालेको छ । पछिल्ला केहि महिनामा कोरोना संक्रमित संख्यामा केहि कमि आएपछि पुनः बढ्न थालेको छ। विश्वको विभिन्न देशमा कोरोना भाइरस महामारीको तेस्रो ततहा चौंथो लहर शुरु भएको छ।
गएको २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८३ हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। २४ घण्टामा विश्वभर १० हजार भन्दा कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा सबै भन्दा बढी कोरोना संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ १ लाख १२ हजार भन्दा बढी संक्रमित फेला परेको तथ्यांक छ। गएको दिन अमेरिकामा ६ सय ५६ जनाले ज्यान गुमाए ।
अमेरिकामा कोरोना विरुद्धको खोप सहजै उपलब्ध हुनेभए पनि त्यहाँ खोप लगाउनेहरुको संख्या अत्यन्तै न्यून छ । अमेरिकीहरुले खोप लगाउन चासो नदिएका कारण विभिन्न राज्यले खोप लगाउनेलाई १ देखि २ सय डलर दिने कार्यक्रम समेत ल्याएका छन् ।
सबै भन्दा बढी कोरोना संक्रमित फेला पर्ने मुलुकमा अमेरिका पछि भारत रहेको छ। गएको २४ घण्टामा त्यहाँ ४२ हजार ८ सय भन्दा बढी संक्रमित फेला परेका छन् भने ५ सय ३२ जनाले ज्यान गुमाएका छन्।
ब्राजिलमा एकै दिनमा संक्रमित हुनेको संख्या ४० हजारभन्दा बढी छ भने इरानमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। इन्डोनेसियामा पनि एकै दिनमा संक्रमित हुनेको संख्या ३५ हजारभन्दा बढी रहेको छ।
युरोपेली र अमेरिकी मुलुकहरुमा संक्रमणको चौथो लहर शुरु भएको संकेत देखिएको विज्ञहरुले बताएका छन्। विज्ञहरुका अनुसार एसियाली मुलुकहरुमा तेस्रो लहरको खतरा बढेको छ ।