कायरको ट्याग लागेको स्वीडिश महिला फुटबल टोली कसरी ‘बघिनी’ बन्यो ?

एजेन्सी – पाँच वर्ष अगाडी ओलम्पिकमा स्वीडेनको महिला फुटबल टोलीको पहिचान फरक थियो। स्वीडेन महिला फुटबल टोली माथि कायरको ट्याग लागेको थियो। रक्षात्मक शैलीमा खेल्दै स्वीडेनले रजत पदक जित्न सफल भएको थियो।

अमेरिकी महिला फुटबल टोलीकी गोलकिपर होप सोलोले स्वीडेन माथि विवादास्पद टिप्पणी नै गर्न भ्याएकी थिइन्। उनले स्वीडेनलाई कायर बताएकी थिइन्। पाँच वर्ष अगाडी कायर भनिएको स्वीडेनको महिला फुटबल टोली अहिले धेरै परिवर्तन भएको छ। रक्षात्मक फुटबलबाट स्वीडेन आक्रामक फुटबल तर्फ प्रस्थान गरेको छ।

जारी टोकियो ओलम्पिकमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। स्वीडेनले पाँच खेलमा १ दर्जन भन्दा बढी गोल गरिसककेको छ। १३ गोल गर्दा स्वीडेनले ३ खेलमा कुनै गोल बेहोरेको छैन।

स्वीडेनले पहिलो खेलमा अमेरिकी महिला फुटबल टोली विरुद्ध ३ गोल गर्दा एक गोल पनि खाएको थिएन। पाँच वर्ष अगाडी कायर भन्ने अमेरिकालाई नै स्वीडेनले मज्जाको हार चखाएको थियो। जससँगै अमेरिकाको ४४ खेल देखिको अपराजित यात्रा टुंगिएको थियो।

पाँच वर्ष अगाडी स्वीडेन रक्षात्मक रुपमा बलियो थियो अहिले पनि त्यो स्तर कम भएको छैन। पहिला भन्दा पनि राम्रो भएको छ। त्यति मात्र नभई आक्रमणमा पनि स्वीडेनले ठूलो छलांग मारेको छ।

स्वीडेनको घरेलु लिगले पनि खेलाडीहरुलाई राम्रो मौका प्रदान गरिरहेको छ। युरोपमा महिला फुटबल लिगहरुमा स्वीडेनका महिला फुटबल खेलाडीहरुको माग उच्च रहेको छ। पछिल्लो समय स्वीडेनी महिला फुटबलरहरुले जुन किसिमको खेल प्रदर्शन गरिरहेका छन्, त्यो पूरा विश्वले हेरिरहेको छ।

स्वीडेनको विकल्पिक खेलाडीहरु पनि धेरै अब्बल रहेका छन्। उनीहरु जुनै पनि समय मैदानमा प्रवेश गरेर खेललाई पूरा परिवर्तन गर्ने क्षमता राख्छन्। यहि कारणले पनि स्वीडेन ओलम्पिकको फाइनल सम्म पुगेको छ।

गत ओलम्पिकमा रजत पदकमा चित्त बुझाउन बाध्य स्वीडेनले यस पटक स्वर्ण पदक सजिलै हातबाट फुत्किन दिने देखिँदैन। उपाधिको बलियो दावेदार अमेरिकालाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको क्यानडाले स्वीडेनलाई पराजित गर्न हम्मे-हम्मे पर्ने देखिन्छ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१३:२७

ओलम्पिक फुटबल: फाइनल खेलमा ब्राजिल र स्पेन भिड्दै, कसले मार्ला बाजी ?