अर्जेन्टिनी कप्तान तथा बार्सिलोना पूर्व कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने समाचारले पूरा विश्व नै हल्लेको छ। क्लबमा २१ वर्ष बिताएका मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौता हुन नसक्दा मेस्सीले बार्सिलोना छाड्ने क्लबले घोषणा गरेको हो।

बिहिबार क्लब र खेलाडी बीच थप ५ वर्षका लागि नयाँ सम्झौता हुने भनिएको थियो। तर एकाएक लालिगा स्यालरी नियमका कारण मेस्सी र बार्सिलोना बीच सम्झौता नहुने खबरले फुटबल जगतनै आश्चर्यचकित भएको थियो। त्यसको केहि समयमा नै बार्सिलोनाले नै आधिकारिक रूपमा मेस्सीले बार्सिलोना छाड्ने घोषणा गरेको थियो।

बार्सिलोनाको यो जानकारी पछि फुटबल जगतमा तहल्का मच्चिएको छ। विगत लामो समयदेखि बार्सिलोनको जर्सीमा जादुमय खेल देखिरहेका क्लबका समर्थकको मनमा मेस्सीले क्लब छाड्ने जानकारीले ठूलो चोट परेको छ। बार्सिलोनाले उक्त घोषणा गरेता पनि मेस्सीले भने हालसम्म आधिकारिक रूपमा केहि बोलेका छैनन्।

मेस्सीले केहि नबोलीरहँदा बार्सिलोनाका पूर्व स्टार खेलाडीले भने यस्तो काम गरेका छन् जसले बार्सिलोनाका समर्थकको चोटमा नुन थप्ने काम गर्न सक्छ र ट्रान्सफर बजारमा तहल्का मच्चाउन काफी रहेको छ। पूर्व बार्सिलोना खेलाडी पीएसजी स्टार नेइमारले मेस्सी प्रकरणमा सामाजिक सञ्जालमा सांकेतिक प्रतिक्रिया दिएका छन्।

ब्राजिलियन स्टार नेइमारले स्वयम् आफैंले केहि पोस्ट नगरे पनि टीएनटी स्पोर्ट्सले हालेको एक पोस्टमा रियाक्ट गर्दै बार्सिलोना समर्थकको घाउमा नुन थप्ने काम गरेका छन्। टीएनटी स्पोर्ट्सले मेस्सी र नेइमार पीएसजीक्लो जर्सीमा रहेर एक-अर्कालाई अंकमाल गरेको फोटो साझा गरेको थियो, जसमा नेइमारले रियाक्ट गरेका छन्।

