एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै फुटबलवृत्तमा नयाँ तरंग पैदा भएको छ। दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियमका कारण मेस्सीले बार्सिलोना छाड्नुपर्ने भएको हो। यससँगै मेस्सी कहाँ जाने हुन् भन्नेमा सबैको चासो छ।
मेस्सीले गत सिजनमै बार्सिलोना छाड्न चाहेका थिए। त्यसताका मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) जाने चर्चा चलेको थियो। तर विभिन्न कारणहरुले गर्दा मेस्सीको बार्सिलोना छाड्ने योजना सफल हुन सकेको थिएन।
यस पटक नवनियुक्त अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै रहन सहमत गराउन सफल भएपनि ला लिगाको नियमका कारण बार्सिलोनाले मेस्सी गुमाउनुपर्ने भयो।
यससँगै मेस्सी पीएसजी जाने चर्चा पुनः शुरु भएको छ। पछिल्लो एक खबरका अनुसार मेस्सी र पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनो बीच कुराकानी भएको छ। दुवै बीच मेस्सीको पीएसजीमा हुन सक्ने ट्रान्सफरलाई लिएर कुराकानी भएको अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
सम्भावित ट्रान्सफरका विषयमा मेस्सी र पोचेटिनो बीच पहिला नै कुराकानी भइसकेको ‘द एथलेटिक’ दावी गर्छ। उसका अनुसार पछिल्लो पटक विकास भएको घटनाक्रम अगाडी नै दुई बीच ट्रान्सफरको सम्बन्धमा दुई बीच छलफल भएको थियो।

