बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीको लागि पुरै बार्सिलोनालाई ५० वर्ष धरापमा पार्न नसकिने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै लापोर्टाले मेस्सीको सम्झौता नविकरण गर्दा बार्सिलोना क्लबनै ५० वर्षको लागि घाटामा जाने स्पष्ट पारेका हुन्।

बिहिबार बार्सिलोनाले क्लब कप्तान लियोनल मेस्सीले बार्सा छाड्ने घोषणा गर्ना साथै फुटबल जगतमा तहल्का मच्चिएको थियो। मेस्सी र बार्सिलोना बीचको सम्झौताको स्थितिका बारेमा जानकारी दिनको लागि पत्रकार सम्मेलन बोलाएका थिए। जसमा बोल्दै उनले भने,”मेस्सीसँग सम्झौता गर्न सीभीसीको प्रस्ताव नै मान्नु पर्ने हुन्छ तर त्यसो गर्दा बार्सिलोनालाई आउँदो ५० वर्षसम्म नोक्सान गर्नेछ।”

सिभिसीको प्रस्ताव नमानेको खण्डमा क्लबले मेस्सीसँग सम्झौता गर्न नसक्ने पनि उनले जानकारी दिए। र एक खेलाडीको लागि क्लब नै धरापमा पार्न नसकिने भन्दै बार्सिलोनालाई सीभिसीको उक्त प्रस्ताव मनजुर नभएको पनि उनले बताए। “हामीलाई उक्त प्रस्ताव मनजूर छैन किनभने त्यसले क्लबलाई ५० वर्षसम्म नोक्सान पुर्याउछ। एक खेलाडीको लागि क्लब लाई नै जोखिममा राख्न म सक्दिन।”

मेस्सीले भने यस बारे अहिलेसम्म केहि बोलेका छैनन्। क्लबले गरेको बिहिबारको घोषणाबाट स्वयम् मेस्सी पनि निकै स्तब्ध रहेको बताइएको छ। यसबारे अधिक स्पष्टता नभएसम्म मेस्सीले कुनै सार्वजनिक बयान नदिने बताइएको थियो। तर लापोर्टाको पत्रकार सम्मेलनपछि भने सायद मेस्सीले पनि आधिकारिक रूपमा बोल्नेछन्।

बार्सिलोना छाड्ने निश्चित भएसँगै उनको अघिल्लो गन्तव्य कुन हुनेछ भन्नेमा पुनः एक पटक बहस सुरु भएको छ। पीएसजी र सिटीलाई उनलाई अनुबन्ध गर्न सक्ने क्लबको रूपमा हेरिरहँदा उनी पीएसजी जाने सम्भावना उच्च रहेको बुझिएको छ।

