पीएसजीको नयाँ रणनीति: मेस्सी भित्र्याउने, एम्बाप्पेलाई फुत्किन नदिने !

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीका पिता तथा एजेन्ट जर्ज मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई सम्पर्क गरेका छन्। बार्सिलोना र मेस्सी बीच हुने भनिएको नयाँ सम्झौतामा नाटकीय मोड आएपछि जर्ज मेस्सीले पीएसजीलाई सम्पर्क गरेका हुन्।

मार्काका अनुसार जर्ज मेस्सीले आफ्ना छोरालाई अनुबन्ध गर्न सकिने अवस्था छ कि छैन भन्ने विषयमा स्पष्ट हुन पीएसजीलाई सम्पर्क गरेका थिए। जर्जले सम्पर्क गरेपछि पीएसजी मेस्सीलाई भित्र्याउने रणनीति निर्माणमा जुटिसकेको छ।

मेस्सीलाई के कसरी भित्र्याउन सकिन्छ भन्ने अध्ययन गर्न पीएसजीको आर्थिक टीम जुटिसकेको बताइएको छ। मेस्सीलाई अनुबन्ध गरिसकेपछि क्लब माथि पर्ने आर्थिक भार र त्यसलाई समाधान गर्ने उचित रणनीति बनाउने कार्य भइरहेको मार्काको दावी छ।

एम्बाप्पेलाई क्लबमै अड्याउने, मेस्सीलाई भित्र्याउने

गएको केहि समय देखि पीएसजीले किलियन एम्बाप्पेलाई क्लबमै अड्याउन विभिन्न प्रयासहरु गरिरहेको छ। पीएसजीका विभिन्न प्रस्तावका बाबजुत एम्बाप्पेले सम्झौता थप गर्न मानिरहेका छैनन्। मेस्सी र बार्सिलोना बीच हुने भनिएको सम्झौतामा अप्रत्याशित मोड आएपछि मेस्सीलाई पनि भित्र्याउने र एम्बाप्पेलाई पनि अड्याउने रणनीतिमा पीएसजी रहेको छ।

धेरै खेलाडी बिर्कीमा राख्दै

मेस्सीलाई अनुबन्ध गर्नुपर्ने भएपछि पीएसजीले क्लबका धेरै खेलाडी बिक्री गर्न सक्ने बताइन्छ। पारिश्रमिकको भार कम गर्नको लागि उसले पहिला बिक्री गर्ने योजना नरहेका खेलाडीलाई पनि मार्केटमा उतार्ने धेरैको आकलन छ।

बिहिबार मात्रै मार्काले पीएसजी २ सय मिलियन युरो ऋणमा रहेको र उसले त्यो ऋण तिर्नको लागि सक्दो खेलाडीहरु बिक्री गर्नुपर्ने रिपोर्ट प्रकाशित गरेको थियो। मेस्सी भित्रिने पक्का भएसँगै पीएसजीले धेरै भन्दा धेरै खेलाडी बिक्रीमा राख्ने मार्काको पछिल्लो अनुमान छ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१७:४०

अस्मिता आले टोटेनहममा अनुबन्धित !