एजेन्सी – टोकियो ओलम्पिक २०२१ मा पुरुषतर्फको फुटबलको स्वर्ण पदकका लागि स्पेन र साबिक स्वर्ण पदक विजेता ब्राजिल भिड्दै छन्। सेमी-फाइनलका खेलहरुमा स्पेनले जापान र ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।
मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको ब्राजिलको यो लगातार तेस्रो ओलम्पिक फाइनल हो। २०१२ ओलम्पिकमा फाइनलमा पराजित भएको ब्राजिल २०१६ रियो ओलम्पिकमा भने स्वर्ण पदक जित्न सफल भएको थियो। त्यस्तै, सेमी-फाइनल खेलमा जापानलाई १-० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको स्पेन सन् २००० पछि पहिलो पटक ओलम्पिकको फाइनलमा प्रवेश गरेको हो।
ब्राजिल र स्पेन दुबै टोलीले अहिलेसम्म एक-एक पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्न सफल भएका छन्। स्पेनले सन् १९९२ मा पहिलो र एक मात्र ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा ब्राजिलले २०१६ मा घरेलु मैदानमा इतिहास मै पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको थियो। अहिलेसम्म ४ पटक फाइनल खेलेको ब्राजिल ३ पटक पराजित भएको थियो भने ३ पटक फाइनलको यात्रा तय गरेको स्पेन २ पटक पराजित हुन पुग्यो।
फाइनल खेल आज अथवा शनिबार नेपाली समयअनुसार साँझ ५:१५ बाट सुरु हुनेछ। प्रतियोगितामा निकै उत्कृष्ट लयमा रहेका दुबै टोली दोस्रो पटक ओलम्पिक फुटबलको च्याम्पियन बन्ने दाउमा हुनेछन्।
कुन च्यानलमा हेर्ने ?
ब्राजिल र स्पेन बीचको खेल नेपालका कुनै पनि च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्न भारतीय च्यानलको भर पर्नुपर्ने हुन्छ। खेल भारतीय च्यानल नेटवर्क सोनीमा हेर्न सकिनेछ। खेल Sony Ten 2, Sony Six, Sony Ten 1 मा प्रशारण हुनेछ।

