लिभरपुलले ‘बाउन्स ब्याक’ गर्न सक्ला ?

एजेन्सी – सन् २०१९-२० को प्रिमियर लिग च्याम्पियन लिभरपुलका लागि सन् २०२०-२१ को सिजन खासै सुखद रहेन। एक यस्तो पनि समय आएको थियो कि लिभरपुल च्याम्पियन्स लिगमा छनोट समेत हुन नसकने देखिएको थियो। तर अन्तिममा आएर लिभरपुल बल्ल-तल्ल च्याम्पियन्स लिगका लागि छनोट हुन सक्यो।

लगातार ३ सिजन उत्कृष्ट प्रदर्शन गर्न सकेको लिभरपुलको प्रदर्शनमा त्यति सम्म गिरावट आउला भने सायदै कसैले सोचेका थिए होला। लिभरपुल कम्जोर हुनु पछाडी क्लबका मूख्य खेलाडीहरु घाइते हुनु प्रमुख कारण थियो। क्लबका धेरै डिफेन्डर घाइते हुँदा क्लब धेरै नै कम्जोर भयो। त्यति मात्र नभई क्लबका प्रशिक्षक योर्गेन क्लोपले विभिन्न प्रयोग समेत गरे, जुन खासै सफल हुन सकेन।

अहिले अवस्था फेरिएको छ। क्लबमा मूख्य डिफेन्डर भर्जिल भान डाइक चोटमुक्त भएर फर्किएका छन् भने जो गोमेज पनि फिट हुँदै गएको अवस्था छ। त्यस्तै नयाँ डिफेन्डर इब्राहिमा कोनाटेको पनि क्लबमा आगमन भएको छ। हालको अवस्थामा डिफेन्समा लिभरपुललाई अब खासै समस्या नहुने अनुमान गर्न सकिन्छ।

कोरोनाका कारण आर्थिक सङ्कट

कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्वभर आर्थिक सङ्कट छ। महामारीको असर फुटबलमा पनि परेको छ। आम्दानीको बाटो सिमित हुँदा विश्वका ठूला क्लबहरु आर्थिक सङ्कटसँग जुधिरहेका छन्। त्यसमा लिभरपुल पनि अछुतो छैन। यहि कारणले गर्दा होला लिभरपुलले कोनाटे बाहेक अन्य कुनै पनि खेलाडी भित्र्याएको छैन। सन् २०२१-२२ को सिजनमा पूराना खेलाडीकै भर पर्ने लिभरपुलको योजना रहेको छ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई टक्कर दिन लिभरपुलले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। सिटीले आफ्नो आक्रमण पङ्गति बलियो बनाउन ज्याक ग्रिलिसलाई भित्र्याएको छ। आर्थिक रुपमा अन्य प्रिमियर लिग क्लब भन्दा बलियो रहेको सिटीसँग टक्करमा जान यस सिजन लिभरपुलले प्रशिक्षक क्लोपको भूमिका धेरै नै महत्वपूर्ण हुनेछ।

क्लोप ती प्रशिक्षक हुन्, जो सामान्य टीमलाई पनि बलियो टोलीको रुपमा विकास गर्न सक्छन्। क्लोपले औसत खेलाडीलाई समेत उत्कृष्ट खेलाडीको रुपमा बदलेको धेरै उदाहरण छन्। ​

प्रकाशित : शनिबार, साउन २३, २०७८१३:४८

मेस्सी पिएसजी जाने भएपछि रोड्रिग्वेजले भने – ‘अब सबै उपाधि पिएसजीलाई दिए हुन्छ’