माधव नेपालले भने – “कम्युनिष्ट भन्दा कांग्रेस नै गतिलो रहेछ, ओली भन्दा देउवा राम्रा”

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट भन्दा कांग्रेसहरुको संस्कार राम्रो रहेको बताएका छन्। शुक्रबार आफूपक्षीय केन्द्रीय कमिटिको बैठक सकेर शनिबार दोलखाका कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्नेक्रममा नेता नेपालले नेपालका कम्युनिष्ट भन्दा कांग्रेसका नेताहरुको संस्कार राम्रो रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पछिल्लो अनुभवले कम्युनिष्टहरु भन्दा कांग्रेसको संस्कार राम्रो हुने आफूले बुझेको बताए। कम्युनिष्टहरुले मानसम्मान र कदर भन्ने कुरा जाँदै नजानेको नेपालको भनाई छ। प्रधानमन्त्री भएपछि देउवाले पूर्वप्रधानमन्त्री रहेका आफूहरुलाई सम्मान दिएपनि ओलीले त्यस्तो नगरेको नेपालले दुखेसो पोखे।

उनले भने,”हेर्नुन् त, देउवा प्रधानमन्त्री भए, हामी पूर्वप्रधानमन्त्रीको सम्मान गरेर बोलाए । विशिष्ट अतिथि बनाएर कदर गरे । माधवजीले बाघ सम्मेलनमा यस्तो ऐतिहासिक भूमिका खेल्नुभयो भने । केपी ओलीले सम्झिए आजसम्म ? यत्रो वर्षसम्म प्रधानमन्त्री भएका केपी ओलीले सम्झिए आजसम्म ? कस्तो यहि पार्टीको मान्छे यहि पार्टीको नेता आफ्नो पार्टीभित्रको सिनियर नेताको मानसम्मान कदर गर्न नसक्ने भनेपछि अपमानको कुरा फिल हुन्छ कि हुन्न ? इतिहासप्रति न्याय हुन्छ ? संस्कार कसको राम्रो रहेछ कम्युनिस्ट कि कांग्रेसको ? म त भन्छु कांग्रेसको ।”

त्यस्तै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा नेपाली कांग्रेसका सभापति धेरै राम्रो रहेको पनि बताए। देउवा ओली भन्दा गतिला भएपनि सिंगो एमालेभन्दा गतिला भने नभएको नेता नेपालको भनाई छ।

“यो लडाइँमा दृढताका साथ अगाडि बढ्नुपर्छ । विचारको लडाइँ जारी छ । हामी जे कदम चालेका छौं, ठीक चालेका छौं । देशलाई ठीक दिशामा लिएर गएका छौं । देशलाई अस्थिरताबाट जोगाएका छौं । संकटबाट जोगाएका छौं । अहिले पनि जोगाएर लानुपर्छ । हामीलाई थाहा छ, केपी ओलीभन्दा गतिलो हुन् तर कम्युनिस्टभन्दा गतिला होइनन् शेरबहादुर । सिंगो एमालेभन्दा गतिला होइनन् हामीलाई थाहा छ । तर धेरै बदमासभन्दा कम बदमासलाई ल्याउनुपर्छ भनिन्छ ।”,उनले भने।

प्रकाशित : आइतबार, साउन २४, २०७८१३:१२

एमालेले नियमित कक्षा सञ्चालन गर्ने, १४ विषयको स्कुलिङ हुने !