बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीले क्लब छाड्ने घोषणा गरेका छन्। आइतबार क्याम नाउमा जारी प्रेस सम्मेलनमा बोल्दै मेस्सी स्वयम् ले पहिलो पटक आफूले बार्सिलोना छाड्ने आधिकारिक घोषणा गरेका हुन्।

प्रेस सम्मेलनमा बोल्नु अघि नै मेस्सी रुँदै अगाडी आएका थिए। उनले आफूले सानै उमेरबाट अनुबन्ध भएको क्लब छाड्ने चाहना नभएको तर छाड्न परेको गुनासो पनि पोखेका छन्। उनले भने,”म क्लब छाड्न चाहन्न थिए तर आज मैले बार्सिलोना छाड्दै छु।”

गत बिहिबार क्लबले पूर्व कप्तान मेस्सीले बार्सिलोनाबाट अर्को सिजन नखेल्ने घोषणा गर्दै पूरा विश्वलाई नै चकित पारेको थियो। केहि घण्टा अगाडी मात्र मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौतामा हस्ताक्षर हुने पक्का जस्तै थियो। तर केहि समयमा नै त्यो ठिक विपरित हुन गर्यो। लालिगाको खेलाडीलाई दिने पारिश्रमिकको विषयमा रहेको नियमको कारण क्लबले मेस्सीसँग सम्झौता गर्न नसकिने बताउँदै आधिकारिक रूपमा नै मेस्सी बार्सिलोनामा नरहने घोषणा गरेको थियो।

जसपछि क्लब अध्यक्ष जोआन लापोर्टाले शुक्रबार प्रेस सम्मेलनमा बोल्दै मेस्सीको लागि क्लबलाई ५० वर्ष नोक्सान हुने काम आफूले नगर्ने भन्दै मेस्सी र बार्सिलोना बीच सम्झौता हुन नसक्ने बताएका थिए। तर मेस्सीले भने यसबारे सार्वजनिक रूपमा केहि बोलेका थिएनन्।

