एजेन्सी – लियोनेल मेस्सीले जहिले पनि खेलाडी भन्दा क्लब ठूलो हुने बताएका छन्। आइतबार बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मेस्सीले खेलाडी भन्दा क्लब ठूलो हुने बताएका हुन्।
मेस्सी बार्सिलोनामा नरहने पक्का भएसँगै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार खेलाडी भन्दा क्लब ठूलो बताएका थिए। लापोर्टाको उक्त भनाई प्रति मेस्सीले आइतबार सहमति व्यक्त गरे।
एक क्लबमा खेलाडी आउने जाने क्रम चलिरहेपनि क्लब र क्लबको इतिहाँस सदा रहने मेस्सीले बताए। बार्सिलोनामा हालको अवस्थामा राम्रो खेलाडी रहेको र भविष्यमा पनि राम्रा खेलाडी आउने मेस्सीको भनाई छ। मेस्सीले बार्सिलोना अझै सफल हुँदै जाने विश्वास पनि व्यक्त गरे।
मेस्सीले भने,”अध्यक्षले भनेजस्तै खेलाडीभन्दा क्लब ठूलो हो । क्लबमा खेलाडी आउने र जाने क्रम चलिरहन्छ। तर, क्लब त क्लब नै हो। अहिले पनि बार्सिलोनामा धेरै राम्रा खेलाडी छन्। र, भविष्यमा पनि राम्रा भन्दा राम्रा खेलाडीको बार्सिलोनामा आगमन हुनेछ।”
नचाहेर पनि क्लब छाड्नुपर्यो
मेस्सीले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको भन्दै दुख समेत व्यक्त गरे। आफूले यस्तो अवस्था आउला भनेर कहिले पनि नसोचेको मेस्सीको भनाई छ।
“यो निकै दुखलाग्दो समय हो । मैले यस क्लबमा रहेर निकै सफलता हासिल गरें । तर यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ । मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ।”,मेस्सीले भने।

