बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीलाई अनुबन्ध गर्ने तयारीमा रहेको फ्रेन्च क्लब पीएसजीले क्लबका १० खेलाडीलाई बिक्रीमा राखेको छ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने घोषणा भएसँगै पीएसजीले उनलाई क्लबमा भित्र्याउने प्रयास गरिरहेको छ।

पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्न मेस्सी तयार रहेको पनि थुप्रै रिपोर्टसले जनाएका छन्। केहि रिपोर्टसलाई मान्ने हो भने पीएसजीमा मेस्सीले ३५ मिलियन प्रति वर्ष पारिश्रमिकमा पीएसजीसँग अनुबन्ध हुनेछन्। मेस्सीको ठूलो पारिश्रमिक बाबजुद पनि ३४ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गर्न सक्षम रहेको पीएसजी मेस्सीको अनुबन्धबाट ठूलो कमाई गर्ने पक्का छ। तर अर्जेन्टिनी स्ट्राइकरलाई क्लब भित्र्याउनका लागि क्लबले खेलाडीलाई दिने पारिश्रमिक कम गर्नुपर्नेछ।

त्यहिकारणले क्लबका थुप्रै खेलाडी जारी ट्रान्सफर विन्डोमा क्लबको बिक्री सूचीमा रहेका छन्। जुन सूचीमा स्टार खेलाडी माउरो इकार्डी, एन्डर हेरेरा जस्ता खेलाडी पनि सामिल छन्। अबदौ डीयालो, ठिलो खेरर, इद्रिसा गेए, राफिन्हा जस्ता खेलाडीलाई पनि पीएसजीले बिक्री गर्ने तयारीमा रहेको छ।

क्लबमा फ्रेन्च युवा सेनसेसन किलियन एम्बाप्पेको भविष्य पनि अनिश्चित रहेको समयमा मेस्सीको अनुबन्धले उनलाई पनि फ्रान्समै बस्न तयार हुने आशा पीएसजीले गरेको छ। मेस्सीलाई फ्री-ट्रान्सफरको रूपमा अनुबन्ध गर्न नजिक रहेको पीएसजीले सर्जियो रामोस, जियानलुइजी डोनारुमा, जिनी विनाल्डम जस्ता खेलाडीलाई पनि फ्री-ट्रान्सफरको रूपमा भित्रयाइसकेको छ। त्यस्तै, इन्टर मिलानबाट ६० मिलियनमा एकाराफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ।
