काठमाडौँ । भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे कुराले आफ्नो याद दिलाउँछ ती सबै चीज भत्काइदिन चेतावनी दिएका छन्। एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथि अनेक प्रश्न उठाउँदै ओलीले देउबा सरकारको कार्यशैली प्रति जनताको अलिकति पनि विश्वास नरहेको आरोप समेत लगाए। देउबाको कार्य देखेर जनताले गीत समेत लेख्न सुरु गरेको ओलीको भनाई थियो। ओलीले भने,”जनताले गीत लेख्न सुरु गरिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु।”
पूर्व प्रधानमन्त्री ओलीले देउबा सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावना नै एमालेलाई गाली गर्दै सुरु हुने टिप्पणी गरेका छन्। उनले भने,”त्यो हामीमाथिको आक्रमण हो। हामीमाथि गम्भीर लाञ्छना लगाउने काम भएको छ।” उनले एक महिनासम्म पनि सरकार गठन हुन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

