मेस्सी अनुबन्ध गर्न टोटनह्याम हट्सपरको प्रयास !

बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीले क्लब छाड्ने घोषणा भएसँगै उनी फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध हुने पक्का-पक्की भएको छ। तर पीएसजीका साथै इंगलिस क्लब टोटनह्याम हट्सपरले पनि मेस्सीलाई अनुबन्ध गर्नका लागि महत्वाकांक्षी प्रस्ताव राखेको बुझिएको छ।

आइतबार प्रेस सम्मेलनमा स्वयम् मेस्सीले आफूले बार्सिलोना छाड्ने घोषणा गरेता पनि क्लबले भने गत बिहिबार नै मेस्सीले बार्सिलोना छाड्ने घोषणा गरेको थियो। जसपछि उनी पीएसजीसँग अनुबन्ध हुने भएको थुप्रै रिपोर्टसले जनाएका छन्। सोमबार नै मेस्सीले पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ।

६ पटकका ब्यालुन डी ओर विजेताले लालिगाको खेलाडीलाई दिने पारिश्रमिक नियमका कारण बार्सिलोना छाड्न बाध्य भएका हुन्। आइतबारको प्रेस सम्मेलनमा पनि मेस्सीले उक्त कुराको जिकिर गरेका थिए। उक्त सम्मेलनमा उनले पीएसजीसँग आफ्नो कुनै सम्झौता नभएको पनि स्पष्ट पारेका थिए। पीएसजी आफ्नो सम्भावित गन्तब्य हुन सक्ने भएता पनि अरु क्लबबाट पनि प्रस्ताव रहेको तर कसैसँग कुनै प्रकारको समहती नभएको उनले प्रष्ट पारेका थिए।

अहिले पीएसजीसँग अनुबन्ध हुन निकै नजिक रहेको समयमा एक रिपोर्टका अनुसार मेस्सीलाई प्रिमियर लिग क्लब टोटनह्यामले पनि प्रस्ताव राखेको खुल्न आएको छ। डेली एक्सप्रेसको रिपोर्ट मान्ने हो भने मेस्सीलाई अनुबन्ध गर्न प्रस्ताव राख्ने क्लबहरु मध्ये टोटनह्याम पनि एक थियो।

तर अब भने ३४ वर्षीय स्ट्राइकर फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध हुन मात्र समयको कुरा रहेको विभिन्न रिपोर्टले जनाएका छन्।

प्रकाशित : सोमबार, साउन २५, २०७८१८:३०

आउँदो संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने !