जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । साउन २१ देखि २७ गतेसम्मका लागि जारी निषेधाज्ञा बुधबार सकिदैछ। मंगलबार दिउसो २ बजे काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बैठक बसी निषेधाज्ञाबारे छलफल गरेर निर्णय लिने छन् ।
कोरोना सक्रमण जोखिम कायमै रहेकोले निषेधाज्ञा थपिने सम्भावना बढी रहेको बताइएको छ। काठमाडौ उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको थियो।
यस अघि साउन २० गते जारी आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/गराउने पाइने छैन। त्यस्तै, स्थानीय ढुवानी ९ बजेदेखि बिहान ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने जारी आदेशमा उल्लेख छ।
शैक्षिक संस्थाहरुको हकमा विद्यालय, कलेज, ट्रेनिंग सेन्टर, कोचिंग सेन्टर, ट्युसन सेन्टरले भौतिक उपस्थितिमा पठन-पाठन गर्न पाउने छैनन्। त्यस्तै, उपत्यकाभित्र संचालन हुने सवारीसाधनले स्वीकृत सिट क्षमता अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर मात्र संचालन गर्न पाइनेछ।

