लियोनल मेस्सी जस्तो खेलाडी आफूसँग होस् भन्ने हरेक क्लबको चाहना हुन्छ। मेस्सीले आफूले बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्। तर यसको कारण उनको खेलमा कमी आउनु हैन तर क्लबको आर्थिक स्थिति कमजोर हुनु यसको मुख्य कारण बताइएको छ।

मेस्सी बिनाको बार्सिलोनाले फेरी एक पटक आफ्नो एकेडेमी ला मासियाका युवा खेलाडी तर्फ आफ्नो ध्यान केन्द्रित गर्न सक्नेछ। गत सिजन प्रशिक्षक नियुक्त भएसँगै रोनाल्ड कोमनले क्लबको खराब आर्थिक स्थितिलाई मध्यनजर गर्दै थुप्रै युवा खेलाडीलाई पहिलो टोलीबाट खेल्ने मौका दिए। पेड्री, रोनाल्ड आराउजो, अस्कार मिन्गेजा, इलाइक्स मोरिबा जस्ता खेलाडीले पहिलो टोलीमा आफ्नो क्षमता देखाउने मौका पाए।

आउँदो सिजनमा अझ धेरै एकेडेमी खेलाडीले मौका पाउनेमा कुनै शंका नै छैन, विशेषगरी मेस्सीको अनुपस्थिति र क्लबको आर्थिक स्थिति डामाडोल भएको अवस्थामा। कुनै पनि टोली जसमा मेस्सी हुन्छन्, त्यो टोली विश्व फुटबलमै सर्वोत्कृष्ट हुन जरूरी हुन्छ जसले हरेक वर्ष च्याम्पियन्स लिग उपाधिका लागि दाबेदारी प्रस्तुत गरोस्। तर अब क्लबमा मेस्सी नभएपछि क्लबले ट्रान्जिसनका लागि केहि समय लिन सक्छ।

लालिगाको खेलाडीलाई दिने पारिश्रमिक सम्बन्धि नियका कारण मेस्सीसँग सम्झौता गर्न नसकेको बार्सिलोनाले सोहि नियमका कारण सर्जियो अगुएरो, मेम्फिस डेपे, एरिक गार्सिया र एमर्सन जस्ता खेलाडीलाई पनि दर्ता गर्न सक्ने स्थिति छैन। जसको कारण मेस्सीको बिदाईका साथै अन्य थुप्रै खेलाडीको बिदाई पनि पक्का रहेको छ।

क्लब निकै संकटमा रहेको समयमा प्रि-सिजनका खेलहरुमा क्लबको एकेडेमीबाट आएका खेलाडीहरुले निकै प्रभाव छाड्न सफल भएका छन्। प्रि-सिजनका खेलहरुमा निकै उत्कृष्ट प्रदर्शन गरेका ग्याबी, निको गोन्जालेज, एलिजान्ड्रो बाल्डे, युसुफ डेमिर जस्ता खेलाडीले नयाँ सिजनमा आफू क्लबका लागि निकै महत्वपूर्ण सदस्य हुन सक्ने प्रमाणित गरेका छन्।

पेप ग्वार्डीओला बार्सिलोनाको प्रशिक्षक हुँदा जसरी ला मासियाका खेलाडीका मद्दतमा एक विश्व स्तरीय टोली तयार पारेका थिए। त्यसरी नै कोमनले त्यस्तै जादू गर्न सक्छन् वा सक्दैनन् भन्ने सबैको चासोको विषय बनेको छ। यस्तोमा बार्सिलोनाले अबको केहि वर्ष च्याम्पियन्स लिग जित्छ भन्नु मूर्खता बाहेक केहि हुँदैन। तर एकडेमीका क्षमतावान खेलाडी र केहि गुणस्तरीय खेलाडीका साथ बार्सिलोनाले आफ्नो खेल सुधार गर्दै जानेमा भने कुनै शंका छैन।

अहिलेको अवस्थामा मेस्सीको अनुपस्थितिमा क्लब कसरी अगाडी बढ्छ र कस्ता योजना रहेका छन् भन्ने कुरा हेर्न बाँकी नै छ। के कुनै कारणले मेस्सीले बार्सिलोना छाड्नु बार्सिलोनाका लागि आशिष् साबित होला त ?

