गत बिहिबार फुटबल क्लब बार्सिलोनाले क्लब कप्तान लियोनल मेस्सीले बार्सा छाड्ने घोषणा गर्ना साथै फुटबल जगतमा तहल्का मच्चियो। लालिगाको स्यालरी क्याप नियमका कारण मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको भन्दै बिहिबार बार्सिलोनाले आधिकारिक रूपमा नै मेस्सीले अर्को सिजन बार्सिलोनाबाट नखेल्ने घोषणा गरेको थियो।

जसपछि गत शुक्रबार प्रेस सम्मेलनमा बोल्दै लापोर्टाले अब मेस्सी र बार्सिलोना बीच कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने बताएपछि क्लबका समर्थक मेस्सीको आधिकारिक घोषणाको पर्खाइमा थिए। त्यसपछि आइतबार क्याम नाउमा आयोजित प्रेस सम्मेलनमा बोल्दै मेस्सी स्वयम् ले पहिलो पटक आफूले बार्सिलोना छाड्ने आधिकारिक घोषणा गरेपछि सारा फुटबल समर्थकको दिल टुटेको थियो।

प्रेस सम्मेलनमा बोल्नु अघि नै मेस्सी रुँदै अगाडी आएका थिए। उनले आफूले सानै उमेरबाट अनुबन्ध भएको क्लब छाड्ने चाहना नभएको तर छाड्न परेको गुनासो पनि पोखेका थिए। उनले भने,”म क्लब छाड्न चाहन्न थिए तर आज मैले बार्सिलोना छाड्दै छु।” मेस्सीको यो घोषणासँगै उनलाई अझै बार्सिलोनाको जर्सीमा हेर्न चाहनेको सपना अधुरो नै रह्यो।

बार्सिलाना छाड्ने घोषणा गरेपछि उनी पीएसजीसँग अनुबन्ध हुने पक्का-पक्की भएको खबर पनि आयो। सोमबार मेस्सी पेरिस प्रस्थान गर्ने हल्ला आएसँगै पीएसजीका समर्थक पेरिसको विमानस्थलमा नै मेस्सीलाई स्वागत गर्न पुगेका थिए। तर मेस्सी नआउने खबर पाएपछि उनीहरू निराश हुँदै फर्किएका थिए।

मेस्सी र पीएसजी बीच २ वर्षीय सम्झौता हुने भन्दै गर्दा फेरी मेस्सी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। मंगलबार बिहानका केहि रिपोर्टसलाई मान्ने हो भने बार्सिलोनाले अन्तिम एकपल्ट क्लबमा राख्न प्रयास सुरु गरेको छ। स्पेनिस पत्रिका ला पोर्टेरियाका अनुसार बार्सिलोना अध्यक्ष जोआन लापोर्टाका नजिकैका एक पत्रकारले दिएको जानकारी अनुसार बार्सिलोनाले मेस्सीलाई क्लब मै राख्न अन्तिम कोशिस गरेको छ।

रिपोर्टका अनुसार मेस्सीले बार्सिलोना छाड्ने घोषणा गरेता पनि उक्त कहानी अझै पूरै समाप्त भएको छैन। क्लबका सीईओ फेरान रेभर्टर स्वयम् नै मेस्सीलाई कसरी बार्सिलोनामा राख्न सकिन्छ भन्ने अध्ययन गरिरहेका छन्।

