पेरिस पुगे मेस्सी: मेस्सीलाई देख्दा खुशीले उफ्रियो भिड ! [भिडियो सहित]

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी पेरिस पुगेका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गर्न मेस्सी मंगलबार पेरिस पुगेका हुन्।

बार्सिलोनाबाट मेस्सी विमानबाट पेरिस पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। मेस्सीलाई स्वागत गर्न पेरिसमा ठूलो संख्यामा पिएसजीका समर्थक जम्मा भएका छन्।

मेस्सी पेरिस पुग्दाको तस्विर तथा भिडियो समेत सार्वजनिक भएका छन्। मार्काले सार्वजनिक गरेको एक भिडियोमा मेस्सीलाई पिएसजीमा देख्दा मेस्सीलाई स्वागत गर्न ठूलो भिड जम्मा भएको देखिएको छ।

दुई वर्षे सम्झौता हुँदै

प्राप्त समाचारका अनुसार मेस्सी र पिएसजी बीच आजै सम्झौता हुनेछ। धेरै छलफल पछि सम्झौताको सहमतिमा पुगेका दुवै पक्ष विभिन्न विषयमा सहमत भएका छन्। मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौता गर्ने बताइन्छ। सम्झौतामा मेस्सीले चाहेको खण्डमा एक वर्ष थप गर्ने विकल्प पनि राखिनेछ।

लामो समय देखि अन्योलमा रहेको मेस्सीको बार्सिलोना बसाईमा बिहिबार पूर्णविराम लागेको थियो। बार्सिलोना र मेस्सी दुवै सम्झौताका लागि तयार रहेपनि लालिगाको नियमका कारण मेस्सी बार्सिलोना छाड्न बाध्य भए। त्यसयता मेस्सी र पिएसजी बीच विभिन्न चरणहरुमा छलफल भए।

लगातारको छलफलपछि दुई पक्ष सहमतिमा पुगेको द एथ्लेटिकले जनाएको छ। मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौताको टुंगो लगाएको एथ्लेटिकको दावी छ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८२०:०६

बार्सिलोनाले मेस्सीको पोस्टर उक्कायो !