मेस्सीको नयाँ यात्रा सुरु!

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्दैछन् । झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए ।

बार्सिलोना छाड्ने घोषणा गर्दा निकै भावुक देखिएका मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । त्यसो त अघिल्लो दिन नै मेस्सी आउने प्रतीक्षामा समर्थकले सहरमा भिड जम्मा गरिसकेका थिए । मंगलबार मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता पक्का गरेका हुन् । गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ‌।

मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।

यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अ‍ौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ ‌। बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अ‍ोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले इच्छा देखाएनन् ।

प्रकाशित : बुधबार, साउन २७, २०७८०७:१५

मेस्सी बार्सिलोनाबाट आउट भएपछि इनिएस्टा दुखि भए, पिडा हुने बताए !