ओली–नेपाल कुनै पनि हालतमा मिल्न नसक्ने !

काठमाडाैं । केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्दा पार्टी एकीकृत बनाउन दौडधूप गरिरहेको एमाले वृत्तमा चर्चा चल्यो– पार्टी फुट्न नदिन अध्यक्ष केपी शर्मा ओली एक कदम पछि सरे । २४ गतेलाई बोलाइएको बैठक एक दिन सारिएको थियो । किनभने त्यसअघि बसेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले पार्टी एकता जोगाउने हो भने बोलाइएको बैठक ओलीले स्थगित गर्नुपर्ने बताएका थिए ।

तर, सोमबारको बैठकले पार्टी एकतामा जोड दिइरहेका समक्ष त्यति शुभ समाचार ल्याएन । ओली पक्षले एमालेको रथ लगभग एक्लै हाँक्न सक्ने निर्णय अनुमोदन ग¥यो, पार्टीमा अध्यक्षलाई शक्तिशाली बनायो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

अध्यक्षमा शक्ति केन्द्रित गर्ने प्रस्ताव राखिएको सो विधान आगामी भदौ २६ र २७ गते बस्ने विधान महाधिवेशनबाट पारित हुँदैछ । नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले संशोधन गराएको विधान एमाले विभाजनको दोस्रो प्रस्थानविन्दु भएको नेपालपक्षीय नेताहरु बताउँछन् । अध्यक्षलाई अत्यधिक बल दिनेगरी केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव पारित गर्नुपहिले ओलीले गरेको सम्बोधन पनि पार्टी नफुटोस् भनेर चाहना राख्ने ओली वृत्तकै नेताहरूका निमित्त समेत प्रिय थिएन ।

सम्बोधनको सुरुमै वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति तीव्र असन्तुष्टि पोखेका उनले बारम्बार दुवै नेताको नाम पनि लिन मन नभएको दोहोर्याइरहे । ‘पार्टीभित्रको विवाद चर्काएर बाहिर लैजाने, मलाई सत्ताबाट निकाल्ने माधव नेपाल र प्रचण्डको के नाम पनि के लिनु र ? मुखै अपवित्र हुन्छ,’ अगाडि टेबलमा रहेको ‘न्यापकिन’ले मुख पुछ्दै ओलीले भने। उनका त्यो हाउभाउले हल एकछिन शून्य भयो । ओलीको गतिविधि नियालिरहेका एक स्थायी कमिटी सदस्यले बताएअनुसार अध्यक्ष ओलीमा माधवकुमार नेपाल र प्रचण्डप्रति निकै आक्रोश देखिन्थ्यो ।

आक्रोशभन्दा बेसी घृणा । त्यही घृणालाई उनले न्यापकिनले मुख पुछ्दै अभिव्यक्त गरे, हाउभाउसहित । आफ्नै पुराना सहयात्रीप्रति ओलीको हद दर्जाको व्यवहार र ओली प्रवृत्तिलाई पटक्कै देख्न नरुचाउने नेता नेपालबीचको पुरानै मित्रता फेरि फर्कने सम्भावना क्षीण हुँदै गएको छ ।

विपरीत धारमा नेतृत्व गरिरहेका यी दुई नेताको सम्बन्ध यस्तो हुँदा एमाले एक हुने सम्भावना झनै कम रहेको दुवै पक्षका नेताहरु बताउँछन् । अध्यक्ष ओली र नेता नेपालले मंगलबार गरेका भाषणको अन्तर्यमा पनि एक अर्काप्रतिको तिक्तता ज्यादा छ । आफैँले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक मंगलबार विशेष समय लिएर बोलेका अध्यक्ष ओलीले पार्टी फुटेको घाटा सहन तयार रहेको बताए ।

‘सभामुखमार्फत प्रधानमन्त्रीज्यूलाई एउटा अनुरोध, मेरो दलका केही सांसदहरु मन्त्री नपाएर हिरिक–हिरिक भएका छन्, ती सांसदहरुलाई मन्त्री बनाउनुस्,’ ओलीले भने, ‘प्लिज प्रधानमन्त्रीज्यू, विचराहरु मन्त्री खान नपाएर छटपटिएका छन् । तिनीहरुलाई मन्त्री बनाइदिनुस् न । किन बिलम्ब गर्नुभएको, किन ढिला गर्नु भएको ? विचराहरुलाई मन्त्री बनाइदिँदा मेरो पार्टीलाई घाटा हुने भए पनि सहुँला, बुझौँला तर उनीहरुलाई मन्त्री बनाइदिनुस् ।’

ओलीले संसदमा त्यसो भन्दा माधव नेपाल भने संसदमा हाजिर मात्र गरेर आफ्ना नेतासँगको छलफलका लागि निस्किसकेका थिए । प्रतिनिधि सभा बैठकमा ओलीको भाषण सकिएलगत्तै नजिकैको अर्याल होटेलमा आफूनिकट अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीप्रति गरेको कटाक्ष पनि कम्तीको छैन ।

’बिहेमा जाने हो भने मलामीका कुरा नगर्नू, मलामी जाने हो भने गीतसंगीतका कुरा नगर्नू,’ नेता नेपालले भने, ’हामी कसैको टाङमुनि छिर्नेवाला छैनौँ’, उनले एमाले एकताबारे संकेत गर्दै भने, ’अध्याँरो सुरुङमा जाने छैनौ ँ। दम्भी र अहंकारीलाई माथ दिएर अघि जाने छौं ।’ यसअघि २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा भंग गरेर एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि फागुन २८ गते ओलीले आफूपक्षीय र माओवादी केन्द्र परित्याग गरेर आएका केही नेतालाई मात्र सहभागी गराई केन्द्रीय कमिटिको बैठक राखेका थिए । नेपाल पक्षलाई थाहै नदिई एकलौटी रुपमा राखिएको सो बैठकले केही निर्णय पनि गरेको थियो । अदालतले पुरानै अवस्थामा फर्काएको एमालेमा केन्द्रीय र स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामा थियो ।

त्यही भएर ओलीले नेपाल पक्षका कसैलाई पनि बोलाएनन् । सोही घटनालाई नेपाल पक्षले पार्टी विभाजनको प्रस्थानविन्दु मानेको छ । पार्टीमा अध्यक्ष ओली र नेपाल पक्षको विवाद समाधान प्रयास भइरहेका बेला साउन २५ गतेको एकपक्षीय बैठकले विधान संशोधन गरी अध्यक्षमा शक्ति केन्द्रित गराइयो । यसले पहिले गरेको विभाजनलाई वैधानिकता दिएको नेपालपक्षीय नेता बेदुराम भुसालको भनाइ छ ।

‘केपी ओलीले एमाले फुटाउने निर्णय फागुन २८ मै गर्नुभएको थियो,’ नेता भुसालले भने, ‘हिजोको बैठकले त्यही निर्णय अनुमोदन गरेको हो ।’
अध्यक्ष ओलीले सोमबार राखेको राखेको बैठकले एकताको सम्भावना टुङ्गिएको नेपाल पक्षले निष्कर्ष निकालेको छ । ‘पार्टीलाई एकताबद्ध पारेर लैजाने प्रयास टुङ्गियो, अध्यक्ष ओलीले फेरि एकता गर्ने आधार बन्द गरिसक्नुभएको छ,’ भुसालले थपे, ‘एकता एकपक्षीय हुँदैन, एउटा पक्षले मात्र चाहेर एकता सम्भव छैन, सबैले चाहनुपर्यो । एकता चाहेको भए हिजोको जस्तो निर्णय हुने थिएन, केपी ओली लगायतको पक्षले पार्टीभित्र समाधान गर्न खोजेन भन्ने हाम्रो ठहर हो ।’

विकसित राजनीतिक परिस्थितिअनुसार नेपाल पक्षले अब छिट्टै नयाँ कार्यक्रम तय गर्ने भएको छ । ७१ वटा जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको नेपाल पक्षले अब बाँकी जिल्लामा पनि समानान्तर कमिटी बनाउनेछ । नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरको सानेपामा आफूपक्षीय कार्यकर्ता भेला राखेको थियो । नेपाल पक्षको सो भेलामा देशभरबाट चार हजार कार्यकर्ता उपस्थित भएका थिए । त्यसबाट हौसिएका नेता नेपालले पार्टीमा समानान्तर कमिटी बनाउँदै लगेका थिए ।

प्रकाशित : बुधबार, साउन २७, २०७८०७:२६

काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च, अस्पताल भरिए !