“मेस्सी पीएसजी गएर रोनाल्डोलाई केहि फरक पर्दैन, रोनाल्डोले युभे मै बसेर च्याम्पियन्स लिग जित्छन्”

लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध हुनाले युभेन्टसमा क्रिस्टियानो रोनाल्डोको भविष्यलाई कुनै प्रभाव नपार्ने ओल्ड लेडीका डिफेन्डर लियोनार्दो बोनुचीले बताएका छन्। गत केहि समयदेखि पीएसजीसँग रोनाल्डोको नाम जोडिएको थियो।

युभेन्टससँग सन् २०२२ सम्म सम्झौता रहेका रोनाल्डोले यहि समरमा क्लब छाड्न चाहेको थुप्रै रिपोर्टसले जनाएका थिए। उनको ठूलो पारिश्रमिकका कारण पीएसजीलाई नै उनलाई भित्राउन सक्ने क्लबका रूपमा हेरिएको थियो। फ्रेन्च क्लबले पनि रोनाल्डो माथि चासो देखाएको थियो। तर गत बिहिबार मेस्सी र बार्सिलोना बीच सम्झौता नहुने घोषणा भएसँगै पीएसजीको प्रमुख लक्ष्य मेस्सी बने।

मंगलबार मात्र ३४ वर्षीय अर्जेन्टिनीले पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। उनको सम्झौतामा एक वर्ष थप गर्न मिल्ने विकल्प पनि रहेको छ। मेस्सी पीएसजीसँग अनुबन्ध भएसँगै रोनाल्डो फ्रेन्च क्लबमा आउने सम्भावना लगभग सकिएको छ। तर रोनाल्डोका टिममेट बोनुचीका अनुसार भने मेस्सीको ट्रान्सफरले रोनाल्डोको भविष्यमा कुनै प्रभाव नपारेको बताएका छन्।

गाजेटा डेल्लो स्पोर्टसँग कुरा गर्दै बोनुचीले भने,”मलाई लाग्छ मेस्सी पीएसजी नगएको भए पनि रोनाल्डो युभे मै बस्थे। उनी हाम्रा लागि निकै महत्वपूर्ण छन् र मलाई विश्वास छ रोनाल्डोले गत वर्ष भन्दा क्लबलाई बढी उपाधि जिताउने छन्।”

युरो २०२० विजेता बोनुचीका अनुसार यो सिजन युभेको प्रमुख लक्ष्य भनेको सरी-ए जित्नु र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्नु रहेको छ। उनका अनुसार क्लबले यो वर्ष सधैं झैँ हरेक एक उपाधिको लागि लड्नेछ र सरी-ए र च्याम्पियन्स लिग जित्न पूर्ण प्रयास गर्नेछ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१२:३८

पूरा भयो रामोसको सपना !