पूर्व पीएसजी तथा बार्सिलोना दिग्गज रोनाल्डिन्होले यो सिजनको च्याम्पियन्स लिग पीएसजीले जित्नु पर्ने बताएका छन्। २०१९/२० सिजनमा फाइनलमा बार्यन म्युनिख र २०२०/२१ सिजनमा सेमी-फाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको पीएसजी मेस्सीको आगमनसँगै अझ बलियो भएको छ।

बार्सिलोनामा २१ वर्ष बिताएका ३४ वर्षीय स्ट्राइकरले मंगलबार फ्रेन्च क्लबसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्। सन् २०२४ सम्म पीएसजीसँग अनुबन्धित भएका मेस्सीसँग थप एक वर्ष क्लबसँग सम्झौता थप गर्ने विकल्प पनि हुनेछ। यसअघि नै पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोस, जिजी डोनारुमा, जिनी विनालडम र एकाराफ हाकिमी जस्ता खेलाडी अनुबन्ध गरिसकेको पीएसजीमा मेस्सी आएसँगै क्लबको पहिलो टोली निकै नै मजबूत देखिएको छ।

समर ट्रान्सफर विन्डोमा निकै आक्रामक बनेको पीएसजीमा पहिले नै नेइमार, एम्बाप्पे, एंगल डी मारिया, मार्को भेराटी, कलर नाभास जस्ता उत्कृष्ट खेलाडी रहेका छन्। यस्तोमा मेस्सीका पूर्व टिममेट ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले यो सिजनको च्याम्पियन्स लिगको प्रमुख दाबेदारको रूपमा पीएसजीलाई हेरेका छन्।

रोनीले ट्वीटर मार्फत मेस्सीलाई बधाई दिँदै पेरिसमा च्याम्पियन्स लिगको बास्ना आउन थालेको बतएका छन्। उनले लेखेका छन्,”बार्सा र पीएसजीमा खेल्नु निकै गर्वको कुरा थियो। र अब मेरा साथीले पनि त्यो महशुस गर्नेछन्। तिम्रो लागि पेरिसमा थुप्रै खुसीका क्षण आउन्, लियो। म सर्जियो रामोसलाई पीएसजीमा देखेर पनि निकै खुसी छु। मलाई च्याम्पियन्स लिगको सुगन्ध आइरहेको छ।”

