एजेन्सी – लालिगाका दुई पूराना खेलाडी तथा प्रतिद्वन्दी लियोनेल मेस्सी र सर्जियो रामोस अब एक साथ खेल्ने भएका छन्। लालिगाका चिर परिचित प्रतिद्वन्दी क्लब बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका मेस्सी र रामोस अब एकसाथ मैदान उत्रिनेछन्। १ दशक भन्दा बढी समय देखि एक अर्कासंग प्रतिष्पर्धा गरिरहेका यी दुई पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि खल्नेछन्।
रियल म्याड्रिडसँगको सम्झौता सकिएपछि रामोस फ्री एजेन्टको रुपमा पिएसजी पुगेका हुन् भने मेस्सी पनि बार्सिलोनाको सम्झौता सकिएपछि फ्री एजेन्टलै रुपमा नै पिएसजी पुगेका हुन्। कुनै एक समय एक-अर्काका प्रतिद्वन्दी रहेका यी दुईलाई एक साथ देख्नु रोमान्चक हुनेछ।
मेस्सी स्पेनमा हुँदा बार्सिलोनाका कप्तान थिए भने रामोस रियल म्याड्रिडका कप्तान थिए। मेस्सी र रामोस बीच धेरै समानता छन्। दुवै सन् २००५ देखि आफ्नो-आफ्नो क्लबका लागि खेल्न शुरु गरेका थिए। रामोस रियलमा सन् २००५ देखि खेल्न थालेका थिए भने मेस्सी पनि सन् २००५ देखि नै बार्सिलोनामा खेल्न थालेका थिए।
बार्सिलोना र रियल बीच हुने एल क्लासिकोमा पनि दुवैले बराबर पटक सहभागिता जनाएका छन्। दुवै ४५ एल क्लासिकोमा सहभागी भएका थिए। यो संख्या लालिगा इतिहाँसकै बढी हो। एल क्लासिकोमा सबै भन्दा बढी सहभगिता जनाउने रेकर्ड मेस्सी र रामोसको नाममा छ।
पूरा भयो रामोसको चाहना
केहि समय अगाडी मात्र रामोसले मेस्सीसँग एकै क्लबबाट खल्ने चाहना व्यक्त गरेका थिए। मेस्सीलाई विश्वको उत्कृष्ट खेलाडीको संज्ञा दिंदै उनले आफ्नो हरेक टीममा मेस्सी चाहने बताएका थिए।
उनले भनेका थिए,”म सधैं उत्कृष्ट खेलाडीहरु सँग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । मैले सधैं भन्दै आएको छु की मेस्सी मेरो रोजाइमा पर्ने खेलाडी हुन्।”
मेस्सी पिएसजीमा अनुबन्धित भएसँगै रामोसको चाहना पनि पूरा हुने भएको छ।

