एम.एस.एन र बी.बी.सी भन्दा पनि उत्कृष्ट ट्रियो बन्ला त मेस्सी-नेइमार-एम्बाप्पे (एम.एन.एम) ट्रियो ?

कतिपय फुटबल फ्यानलाई मेस्सीले पीएसजीबाट खेल्ने कुरा अझै पनि विश्वास गर्न गाह्रो भइरहेको छ। बार्सिलोना र मेस्सी बीच सम्झौता हुन नसक्ने भन्दै २१ वर्षपछि अर्जेन्टिनी कप्तानले क्याटालान क्लब छाड्ने घोषणाले पूरै खेल जगत नै चकित भएको थियो।

आइतबार प्रेस सम्मेलनमा आफूले बार्सिलोना छाड्ने घोषणा गरेका मेस्सीले मंगलबार फ्रेन्च क्लब पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। मेस्सीको आगमनसँगै पीएसजीलाई युरोप कै सबैभन्दा बलियो टोली मध्ये एकमा गनिन थालिएको छ। जारी ट्रान्सफर विन्डोमा निकै व्यस्त बनेको पीएसजीले मेस्सीलाई भित्र्याउनु अघि नै सर्जियो रामोस, जियानलुइजी डोनारुमा, जिनी विनालडम र एकाराफ हाकिमी जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको थियो।

ट्रान्सफर विन्डोमा निकै उत्कृष्ट खेलाडीलाई क्लबमा भित्र्याएको पीएसजीमा पहिले नै नेइमार, एम्बाप्पे, इकार्डी, नाभास, भेराटी, डी मारिया जस्ता विश्व स्तरीय खेलाडीको साथ थियो। मेस्सी क्लबसँग अनुबन्ध भएसँगै सबैको नजर क्लबको अग्रपंक्तिमा पर्न सुरु भएको छ। नेइमार र एम्बाप्पे जस्ता खेलाडी भएको अग्रपंक्तिमा मेस्सी थपिएसँगै यी तीन खेलाडीको ट्रियोलाई विश्व फुटबल कै सर्वोत्कृष्ट ट्रियोको रूपमा हेर्न थालिएको छ।

एमएनएम अर्थात मेस्सी-नेइमार-एम्बाप्पे भनेर चिनिने यो ट्रियोले एक साथ एक खेल पनि खेलका छैनन्। जसको कारण यी तीन बीचको तालमेल कस्तो हुने हो भन्ने त हेर्न बाँकी नै रहेको छ। तर पनि व्यक्तिगत क्षमता र प्रतिभाको हिसाबले हाल विश्व फुटबलमा यो ट्रियो भन्दा उत्कृष्ट कोहि छैन।

एमएनएमको तुलना हाल आधुनिक समयको दुई सर्वोत्कृष्ट ट्रियोसँग हुन थालेको छ। यो ट्रियोको तुलना बार्सिलोनाको प्रख्यात ट्रियो मेस्सी-सुआरेज-नेइमार (एमएसएन) र रियल म्याड्रिडको ट्रियो बेल-बेन्जेमा-क्रिस्टियानो (बीबीसी) सँग हुन थालेको छ। सन् २०१४ देखि २०१७ सम्म साथमा खेलेको एमएसएन ट्रियोले उक्त ४ वर्षमा पूरा विश्वमा तहल्का मच्चाएको थियो। एकसाथ ३ सय भन्दा बढी गोल गरेको यो ट्रियोलाई फुटबल इतिहास कै सर्वोत्कृष्ट ट्रियो मध्ये एकको रूपमा मानिन्छ।

त्यस्तै, सन् २०१३ देखि २०१८ सम्म रियल म्याड्रिडमा बीबीसीको राज चल्यो। चोटका कारण एकसाथ धेरै नदेखिएता पनि यो ट्रियोले एकसाथ ४ च्याम्पियन्स लिग जित्न सफल भएको थियो। मेस्सी-रोनाल्डो विवाद जस्तै एमएसएन-बीबीसी विवाद पनि को भन्दा को उत्कृष्ट भनेर चलिरहन्छ।

हाल विश्व फुटबलमा यी दुई ट्रियो नरहेता पनि अहिले सबैको नजर एमएमएम माथि रहेको छ। धेरैले यो ट्रियोलाई इतिहास कै सबैभन्दा घातक साबित हुने पनि बताएका छन्। के एमएमएन र बीबीसी भन्दा पनि उत्कृष्ट ट्रियो साबित होला त एमएनएम ?

प्रकाशित : बिहिबार, साउन २८, २०७८११:४०

पिएसजी र मेस्सीलाई टक्कर दिन रोनाल्डोलाई निम्तो, लिल आउन आग्रह !