एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन लिलका डिफेन्डर जोसे फोन्टेले लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भएसँगै आफूहरुलाई गार्हो पर्ने बताएका छन्। गएको एक दशकमा लगातार फ्रेन्च लिग वान च्याम्पियन बनिराहेको पिएसजीबाट गत सिजन मात्रै उपाधि खोसेको लिलका पोर्चुगिज डिफेन्डर जोसे फोन्टेले मेस्सीको आगमनसँगै आफूहरुलाई उपाधिको रक्षा गर्न थप गार्हो हुने बताएका हुन्।
एक अन्तर्वार्ताका क्रममा फोन्टेले मेस्सीको आगमन पछि प्रतिष्पर्धा बढेको भएपनि आफूहरु त्यसका लागि तयार रहेको बताए। उपाधि रक्षाका लागि आफूहरु सम्पूर्णा प्रयास गर्ने उनको भनाई छ।
“मेस्सी फ्रान्स आएपछि हामीलाई अझ थप गार्हो हुने भएको छ। तर हामी चुनौतीको सामना गर्न तयार छौं।”,टल्कस्पोर्ट अन्तर्वार्ता दिनेक्रममा फोन्टेले भने।
त्यस्तै फोन्टेले मेस्सी फ्रान्स आएका कारण क्रिस्टियानो रोनाल्डो पनि फ्रान्स आउनुपर्ने बताएका छन्। हाल पिएसजीको सबै भन्दा ठूलो प्रतिद्वन्दी रहेकको लिलमा रोनाल्डो आउनुपर्ने उनको बुझाई छ।
रोनाल्डोलाई पटक-पटक आफूले लिल आउन धेरै पटक आग्रह गरिसकेको पनि उनले खुलासा गरे। लिल आउन आग्रह गर्दा रोनाल्डोले जहिले पनि हाँसेर टार्ने गरेको फोन्टे बताउँछन्।
उनले अन्तर्वार्तामा भनेका छन,”म हरेक दिन क्रिस्टियानो रोनाल्डोलाई लिल आउँ आग्रह गर्दै मेसेज गरिरहेको छु। तर उनी ‘हाहा’ मात्र भनिरहेका छन्।”
लिल आएर पिएसजीलाई पछि पार्न सहयोग गर्न रोनाल्डोलाई आग्रह गरिरहेको भएपनि रोनाल्डोले खासै चासो नदिएको फोन्टेले बताए। रोनाल्डो लिल आएको खण्डमा लिल र पिएसजी बीचको प्रतिष्पर्धा थप रोमान्चक हुने उनको भनाई छ।