नेयमारको त्यो निरन्तर प्रयास र प्रेम जसले मेस्सीलाई पिएसजीमा ‘ल्याण्ड’ गरायो …

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना नबस्ने खबर बाहिरिँदा सबै चकित परेका थिए। मेस्सी कुन क्लब जालान् भन्ने विषयमा सबैको चासो थियो। तर मेस्सीले आफ्नो भविष्यलाई अन्योलमा राखेनन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको छलफललाई तिब्रता दिएर मेस्सीले सम्झौताको टुंगो लगाए।

मेस्सीले पिएसजीसँग अनुबन्धित हुन एक हप्ता पनि लगाएनन्। गएको बिहिबार मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको थियो। त्यसको तेस्रो दिन अर्थात आइतबार मेस्सीले बार्सिलोनाबाट औपचारिक रुपमा बिदा लिए। र त्यसको २ दिनमै अर्थात मंगलबार पिएसजीसंग सम्झौता गरे।

मेस्सी र पिएसजी बीच सम्झौता हुनुमा सबै भन्दा बढी ब्राजिलियन स्टार फुटबलर नेयमारको भूमिका सबै भन्दा बढी महत्वपूर्ण रह्यो। मेस्सीको पिएसजी जानुमा सबै भन्दा धेरै श्रेय नेयमारलाई जाने बताइन्छ।

मेस्सी र नेयमार पूराना साथी हुन्। नेयमार बार्सिलोनामा हुँदा मेस्सी र नेयमारले एक साथ खेलेका थिए। त्यहि समयमा नेयमार र मेस्सी नजिक भएका थिए। अझ भन्ने हो भने नेयमार र मेस्सी पारिवारिक रुपमै नजिक रहेका छन्। विभिन्न अवसरहरुमा दुवैले एक अर्का प्रतिको सम्मान सार्वजनिक रुपमै बताइसकेका छन्।

नेयमारले त धेरै पटक मेस्सीसँग फेरी खेल्ने चाहना समेत स्पष्ट रुपमा जाहेर गर्दै आएका थिए। मेस्सीसँग पुनः खेल्नकै लागि नेयमारले बार्सिलोना फिर्ता हुने प्रयास गरेको पनि सबैलाई थाहा छ। तर, नेयमारको उक्त प्रयास सफल हुन सकेन। केहि महिना अगाडी मात्रै नेयमारले मेस्सी सँग पुनः खेल्ने र त्यो बार्सिलोनामा नभई पिएसजीमा हुने समेत बताएका थिए।

मेस्सीले गत सिजन बार्सिलोना छाड्ने निर्णय गर्दा पनि पिएसजीले मेस्सीलाई सम्पर्क गरेको थियो। त्यो पनि नेयमारकै चाहना पूरा गर्न भएको जानकारीहरु बताउँछन्। बार्सिलोनासँग मेस्सीको सम्झौता सकिएयता नेयमार र मेस्सी लगातार सम्पर्कमा रहेको बताइन्छ। विभिन्न रिपोर्टका अनुसार गएका महिनाहरुमा नेयमारले मेस्सीलाई पिएसजी आउन लगातार आग्रह गरेका थिए।

मेस्सी आफैंले पनि आफ्नो ट्रान्सफरमा नेयमारको महत्वपूर्ण भूमिका रहेको बताइसकेका छन्। पिएसजीसँग सम्झौता गरेपछिको पत्रकार सम्मेलनमा मेस्सीले भनेका थिए,”मेरो ट्रान्सफरमा नेयमारको महात्वपूर्ण भूमिका रह्यो। म नेयमारलाई राम्रोसँग चिन्छु। हामी पहिले अलग थियौं तर मलाई लाग्छ कि हामी सँगै हुँदा राम्रो हुन्छ। म यहाँ आउनुको एक कारण नेयमार पनि हुन्।”

“म मेरो टीमका सबै साथीहरुलाई राम्रोसँग चिन्छु। हामी सबै पहिले धेरै पटक भेटेका छौं। मेरा टीमका साथीहरुसँग खेल्न म आतुर छु। हामी सबैको एउटै उद्देश्य छ।”,मेस्सीले थप भनेका थिए।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१४:३५

यी ९ पीएसजी खेलाडी जसले पहिला बार्सिलोनाबाट खेले !