काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठीक नभएको टिप्पणी गरेका छन्।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै यादवले ओलीको मानसिक र भौतिक अवस्था ठीक नभएको विवादास्पद टिप्पणी गरेका हुन्।
ओलीको मानसिक र भौतिक अवस्था बारे तत्कालिन नेकपा हुँदा नै आफूले पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको मातृकाले बताए। ओलीको मानसिक अवस्थाकै कारण जुन सुकै बेला दुर्घटना हुन सक्ने कुरा प्रचण्डलाई पहिला नै बताएको उनको भनाई छ।
उनले भने,” पनि बोल्न पाइन्छ यहाँ? मैले एउटै पार्टी (नेकपा) हुँदा भनेको थिएँ। उहाँ (केपी शर्मा ओली) चाहिँ मानसिक र भौतिक रुपमा ठीक हुनुहुन्न, कुनै बेला दुर्घटना हुन सक्छ।”
मानसिक र भौतिक अवस्था ठीक नभएका ओलीलाई देशको जिम्मेवारी दिँदै देश दुर्घटनामा परेको टिप्पणी पनि यादवले गरे। ओली सरकारको क्याबिनेटका सदस्य समर रहिसकेका यादवले नेकपा र सरकारको बोझ ओलीलाई बोकाउन उचित नभएको त्यसबेला नै बताएको उल्लेख गरे।
ओलीकै कारण नेकपा पार्टी दुर्घटनामा परेको र त्यसले देशलाई पनि समस्यामा पारेको यादवको भनाई छ। उनले भने,”ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने? जहाज उडाउँदा मेडिकल चेक हुन्छ। यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन?”
यादवले ओली माथि विवादास्पद टिप्पणी गरेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति व्यक्त गरे। भट्टराईले प्रश्न गरे,”संसदमा बोल्नेले कसैलाई इंगित गरेर मानसिक रुपमा खराब भनेको कसरी? त्यो भन्ने अधिकार उहाँमा कहाँ छ? के तथ्यका आधारमा उहाँले भन्नु भएको छ? प्रत्येक सदस्यले एकअर्काकोबारे यसरी बोल्न मिल्छ कि मिल्दैन?”

