काठमाडौं – फिफा वरियतामा नेपालले तीन स्थानको सुधार गरेको छ । यसअघि १ सय ७१ औं स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ६८ औं स्थानमा छ । मे २७ पछि फिफाले बिहीबार वरियता सार्वजनिक गरेको हो ।
जेठमा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो । विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।
विगतमा जस्तै दक्षिण एसियाली राष्ट्रमध्ये भारत शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियताको १ सय पाँचौं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा पछि भुटान १ सय ८७ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय पाँचौं स्थानमा रहेको छ ।
बेल्जियम फिफा वरियताको शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो, विश्व कप विजेता तेस्रो, युरो २०२० को उपविजेता इंग्ल्यान्ड चौथो, युरो विजेता इटाली पाँचौं, कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दसौं स्थानमा छ ।