एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले हालको अवस्थामा ड्रिम टीम पाएको छ। पिएसजीको आक्रमण पङ्तिमा अब लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे रहनेछन्। यो जुनै पनि ठूलो क्लबले चाहने आक्रमण पङ्ति हो। मेस्सी-एम्बाप्पे-नेयमारको बीच कति समय सम्म सहकार्य हुन्छ भन्ने एकिन भने छैन।
किलियन एम्बाप्पेको भविष्य अझै अन्योलमा छ। पिएसजीमा एम्बाप्पेको सम्झौता अर्को वर्ष सकिँदैछ। एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नथप्ने स्पष्ट पारिसकेका छन्। यता पिएसजीको जोड भने एम्बाप्पेलाई क्लबमै अड्याउनेमा छ।
हालसालै आएको एक रिपोर्टका अनुसार मेस्सीको आगमनसँगै एम्बाप्पे आफ्नो भविष्यलाई लिएर सशंकित भएका छन्। मेस्सीको आगमनले एम्बाप्पेलाई चिन्तित बनाएको गज्जेटा डेल्लो स्पोर्टले जनाएको छ।
पछिल्लो समय एम्बाप्पेको चासो मेस्सी र नेयमारको छायाँमा परिने हो कि भन्नेमा रहेको बताइन्छ। नेयमार र मेस्सीको छायाँमा पर्दा आफ्नो महत्व कम हुन सकिनेलाई लिएर एम्बाप्पे चिन्तित भएका छन्।
पिएसजीका अध्यक्ष नासेर अल खेलैफीले एम्बाप्पेलाई लिएर केहि दिन अगाडी मात्रै पिएसजीको धारणा दोहोर्याएका थिए। उनले एम्बाप्पे पिएसजीको मूख्य योजना रहेको बताएका थिए। एम्बाप्पे र उनको परिवारसँग पिएसजीले लगातार छलफल गरिरहेको उनको संकेत थियो।
उनले भनेका थिए,”म एम्बाप्पे र उनको परिवारसंग भैरहेको छलफल बारे विस्तृतमा जान चाहन्न। तर, कुरा यति हो कि एम्बाप्पे हाम्रो मूख्य योजनामा छन्।”