काठमाडौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतको शीर्ष श्रेणीको लिग आइ लिगमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
आईलिगले बिहीबार किरणले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ । किरणले गत सिजन राउन्ड ग्लास पन्जाब फुटबल क्लबबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट राखेका थिए । उनले ५६ सट प्रहारलाई बचाउ गरेका थिए । उनले ८२ प्रतिशत प्रहार बचाएका थिए ।
किरणले यसअघि आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए । आईलिगको उपाधि गोकुलम केरेला एफसीले जित्दा किरण सम्मिलित राउन्ड ग्लास पन्जाब चौथो भएको थियो ।
फ्यान्स प्लेयर अफ दि सिजन अवार्ड जितेपछि किरणले फुटबल करिअरमा अर्काे एक अवार्ड थपिएको र नेपाली हुनुमा गर्वको महसुस भएको बताएका छन् । ‘समर्थकको साथ र मायाविना म मेरो फुटबल करिअरमा यो चीजहरु हासिल गर्न सक्दिन । त्यसैले सधै माया गरिरहनु,’ किरणले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
किरण अहिले भारतसँगको दुई मैत्रीपुर्ण खेल, साफ च्याम्पियनसिप र एसियन कप छनोट खेलको लागि बन्द प्रशिक्षणमा रहेका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा सुरु भएको छ । टोलीले दुई साता पोखरामै प्रशिक्षण गर्नेछ ।