काठमाडौं । भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले जयनगर–कुर्था रेलवे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता आएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो । उसले पत्र लेखेकै दिन महाप्रबन्धकबाट भट्टराईले बुधबार नै राजीनामा दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका भट्टराईलाई भर्खर बनेको देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । भट्टराईले स्पष्टीकरणको सट्टा राजीनामा नै बुझाएका हुन् ।
कोंकणले २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । त्यसबेला नेपाल सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय ग¥यो । यसअनुसार कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो । नेपाल सरकारले रेल भित्र्याएपछि कोंकणले नै व्यावसायिक रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा जयनगर–कुर्था रेल सञ्चालनसहित मर्मतसम्भारको काम पनि आफैँले गर्ने कम्पनीले बताएको थियो ।
सोसँगै नेपाल सरकारले भारतको रेलवे मन्त्रालयमार्फत रेल सञ्चालनको लागि व्यावसायिक दरहरु अपरिवर्तनीय हुने गरी कोंकणलाई सम्झौता गर्न लगायो । कोंकणले व्यावसायिक रेल सञ्चालनको लागि १६.८३ प्रतिशत छुट समेत दिएको पत्रमा उल्लेख गरेको छ । सोहीअनुसार भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेल सञ्चालनको लागि नेपाल रेलवे कम्पनीले सम्झौता ग¥यो । उक्त सम्झौताअनुसार नेपाल सरकारले २० प्रतिशत अग्रिम भुक्तानी कम्पनीलाई दिनुपर्ने थियो ।
तर नेपाल सरकारले अहिलेम्म उक्त रकम बुझाउन नसकेको कोंकणले उल्लेख गरेको छ । अग्रिम भुक्तानी रकम नबुझाउनु दुई पक्षबीचको सम्झौताको उल्लंघन भएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । नेपाल सरकारले रकम भुक्तानी नगरे सम्झौताअनुसार रेल सञ्चालनको लागि कोंकण बाध्य नभएको पनि पत्रमा बताइएको छ । त्यसबाहेक कुर्था–जयनगर रेल सञ्चालनको लागि ट्रयाक तयार भइसकेको, रेल पनि भित्रिएको तर सञ्चालन हुन नसकेको भन्दै कम्पनीले दुःख व्यक्त समेत गरेको छ ।