पीएसजीमा: रोनाल्डोको इन्ट्री, एम्बाप्पे आउट !

पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले क्लबलाई निकै मजबूत बनाउँदै छन्। च्याम्पियन्स लिग जित्ने सपनाका साथ हरेक ट्रान्सफर विन्डोमा निकै आक्रामक तथा व्यस्त रहने पीएसजीका लागि जारी ट्रान्सफर विन्डो निकै नै उत्कृष्ट रह्यो।

खेलाइफीले जारी ट्रान्सफर विन्डोमा पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोस, जिनी विनालडम, जियानलुइजी डोनारुमा र विश्वकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सी क्लबमा भित्र्याए। यी खेलाडीलाई अनुबन्ध गर्नको लागि पीएसजीले एक पैसा पनि खर्च गर्नु परे। फ्री-एजेन्ट रहेका यी सबै खेलाडीलाई आफ्नो आकर्षक योजना र पारिश्रमिकका कारण क्लबमा ल्याउन सफल भए अल खेलाइफी। यसका साथै पीएसजीले ६० मिलियन तिरेर इन्टर मिलान डिफेन्डर एकाराफ हकिमीलाई पनि अनुबन्ध गरेको छ।

मेस्सी, नेइमार एम्बाप्पे, इकार्डी, डी मारिया, रामोस जस्ता उत्कृष्ट खेलाडीको साथ रहेको पीएसजीको सपना भने अझै पूरा भएको छैन। विशेषगरी किलियन एम्बाप्पे क्लबमा लामो समय बस्न नचाहेको र २०२२ सम्म पीएसजीसँग सम्झौता रहेका युवा फ्रेन्च स्टारले नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने खेलाइफीले पनि मानिसकेका छन्। तर यहि सिजन भने कुनै पनि हलातमा एम्बाप्पेलाई जान नदिने पीएसजीको योजना रहेको छ।

लामो समयबाट स्पेनिस क्लब रियल म्याड्रिडसँग नाम जोडिएका एम्बाप्पे अर्को सिजन फ्री-एजेन्टका रूपमा स्पेनिस क्यापिटल जाने सम्भावना निकै उच्च रहेको छ। यस्तोमा पीएसजीले विश्व फुटबल कै सबैभन्दा मूल्यवान मानिएका खेलाडीलाई फ्रीमा गुमाउने छ। तर एम्बाप्पेको स्थानमा कसलाई क्लब भित्राउने भन्ने कुरा क्लबले निर्णय गरिसकेको छ।

सन् २०२२ मा पीएसजी छाडेर एम्बाप्पे रियल प्रस्थान गरेको खण्डमा उनको स्थानमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजनामा पीएसजी रहेको छ। युभेन्टससँग रोनाल्डोको सम्झौता पनि २०२२ मा समाप्त हुनेछ, जसको कारण रोनाल्डो पनि फ्रीमा उपलब्ध हुनेछन्। त्यस्तो भएको खण्डमा सारा फुटबल समर्थकको मेस्सी र रोनाल्डोलाई एकै टिमबाट खेलेको हेर्ने सपना पूरा हुनेछ। के यस्तो सम्भव होला त ?

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१३:५८

ग्रिलिस पछि केनलाई भित्र्याउने सिटीको दाउ, यति ठूलो रकम तिर्न तयार !