सिजनको दोस्रो खेलमा पिएसजीले स्ट्रासबर्गसँग खेल्दै, मेस्सीले डेब्यू गर्ने सम्भावना कति ?

एजेन्सी – फ्रेन्च लिग वान अन्तर्गत पर्सी सेन्ट जर्मेन(पिएसजी)ले आज स्ट्रासबर्गसँग खेल्दै छ। सिजनको दोस्रो खेलमा पिएसजीले स्ट्रासबर्गको सामना गर्न लागेको हो।

पिएसजी र स्ट्रासबर्ग बीचको खेल पिएसजीको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। आज स्ट्रासबर्ग पहिलो जितको खोजिमा हुनेछ भने स्टार खेलाडीले भरिएको पिएसजी सिजनको दोस्रो जितको खोजिमा हुनेछ। यस अगाडी पिएसजीले सिजनको पहिलो खेलमा नव प्रवेशी ट्रोएसमाथि २–१ को गोल अन्तरले पराजित गरेको थियो।

आजको खेलमा मेस्सी खेल्ने सम्भावना कति ?

बार्सिलोनामा लामो समय रहेका अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी अहिले आधिकारिक रुपमा पिएसजीका खेलाडी भैसकेका छन्। मेस्सीले यसै हप्ता पिएसजीसंग सम्झौता गरेका हुन्। मेस्सी प्रशिक्षणमा समेत सहभागी भैसकेको अवस्था छ।

पिएसजीले स्ट्रासबर्गको सामना गर्दै गर्दा मेस्सी खेल्छन् कि खेल्दैनन् भन्नेमा सबैको चासो छ। फुटबलका जानकारहरुका अनुसार मेस्सीले आजै डेब्यू गर्ने सम्भावना धेरै न्यून छ। मेस्सी मैदानमा उत्रिने गरी तयार भैसकेका छैनन् र त्यसको लागि उनले केहि हप्ता प्रशिक्षण गर्नुपर्नेछ।

मेस्सी कोपा अमेरिका पश्चात लगातार छुट्टिमा थिए। त्यसक्रममा उनले परिवारसंग विभिन्न स्थानको भ्रमण गरेका थिए। छुट्टिबाट फर्किएपछि उनी सिधै बार्सिलोना गएका थिए। त्यहाँ उनले प्रशिक्षण गरेका थिएनन। केहि हप्ताको प्रशिक्षण पश्चात मात्र मेस्सीले डेब्यू गर्ने सम्भावना देखिन्छ।

अनुमान गरिए अनुसार मेस्सीले छिटोमा अगस्त महिनाको अन्तिम हप्ता अथवा सेप्टेम्बर महिनाको पहिलो हप्ता डेब्यू गर्नेछन्।

प्रकाशित : शनिबार, साउन ३०, २०७८१४:२५

पिएसजीको स्क्वाडमा मेस्सी-रामोस दुवै परेनन्, को-को परे ? [सूची सहित]