काठमाडौँ – हप्ताको पहिलो दिन नै आज सुनको मूल्य बढेको छ। लगातार घटी बिहिबार र शुक्रबार बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ७ सय कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य भने ९ सय रुपैंयाँले वृद्धि भएको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।
गत हप्ता सुनको मूल्य
गत हप्ता छापावाला सुन ८८ हजार ८ सय देखि ९० हजार रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ८८ हजार ३ सय ५० देखि ८९ हजार ५ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो।
सुन ९ दिन यताकै महँगो
पछिल्लो मूल्य वृद्धि सँगै सुन ९ दिन यताकै महँगो भएको छ। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य साउन २२ गते यताकै महँगो हो। त्यस दिन छापावाला सुन ९१ हजार ५ सय र तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो। त्यसयता सुन लगातार घटेर यस वर्षकै सस्तो भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु २० ले बढेर १२ सय ५ रुपैंयाँ कायम भएको छ।