एजेन्सी – लालिगा नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले सानदार जित निकाल्यो। रियलले डिपोर्टिभो एलाभेसलाई उसकै मैदानमा ४–१ गोल अन्तरले पराजित गर्यो। एलाभेसलाई रियलले पराजित गर्दा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको भूमिका धेरै महत्वपूर्ण रह्यो।
रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक-एक गोल गरे। एलाभेस विरुद्धको खेलमा कप्तानी सम्हालिरहेका बेन्जेमाले खेलको ४८औं मिनेटमा र ६२औं मिनेटमा गोल गरेका हुन्।
सिजनको पहिलो खेलमा दुई गोल गरेसँगै बेन्जेमाले यस सिजन रियलको मूख्य स्ट्राइकरको रुपमा निरन्तर रहने छनक दिएका छन्। बेन्जेमाले गएको दुई सिजनमा रियलले गरेका ३१ दशमलब ८ प्रतिशत गोल गरेका थिए। रियलका मुख्य स्ट्राइकरको रुपमा रहेका क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि बेन्जेमाले तीन सिजनमा क्रमश २१, २२ र २३ गोल गरिसकेका छन्।
सन् २०२०-२१ को सिजनमा बेन्जेमा लालिगाको दोस्रो बढी गोल गर्ने खेलाडी बनेका थिए। गोलको मामलामा बेन्जेमा बार्सिलोनाका तत्कालिन कप्तान लियोनेल मेस्सी भन्दा मात्रै पछि परेका थिए। रोनाल्डोको छायाँमा परेका भनिएका बेन्जेमा रोनाल्डोको बहिर्गमन पश्चात आफूलाई लगातार प्रमाणित गरिरहेको फुटबल विश्लेषकहरु बताउँछन्।
अब पिचिची अवार्ड बेन्जेमाको ?
लालिगाका सर्वाधिक गोलकर्तालाई दिइने पिचिची अवार्डमा लियोनेल मेस्सीको अधिपत्य थियो। मेस्सी सर्वाधिक पिचिची अवार्ध जित्ने खेलाडी हुन्। मेस्सीले ८ पटक लालिगाको शिर्ष गोलकर्ता बन्दै उक्त अवार्ड जिएका थिए।
गएको वर्ष पनि मेस्सीले बेन्जेमालाई पछि पार्दै उक्त अवार्ड जितेका थिए। बार्सिलोनाबाट मेस्सीको बहिर्गमन भएपश्चात अब बेन्जेमाले उक्त अवार्ड जित्न सक्ने सम्भावना बढेर गएको छ। तर यति हो कि, उनले गएको सिजन बराबर अथवा अझ राम्रो प्रदर्शन गर्नुपर्नेछ।