एजेन्सी – डेढ दशक भन्दा लामो बार्सिलोना बसाईलाई पूर्णविराम लगाएका अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सी अहिले फ्रान्सको राजधानी पेरिसमा छन्। मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अनुबन्धित भएका छन्।
लामो समय बसेको शहरबाट अर्को देश र शहरमा सरुवा भएका मेस्सी अहिले पेरिसको एक सुविधा सम्पन्न होटेलमा बरिरहेका छन्। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएअनुसार मेस्सी पेरिसको ले रोयल मोनसेउ होटेलमा छन्।
उक्त होटेलमा मेस्सीसँगै आफ्नी श्रीमती एन्टोनेला र तीन सन्तानसँग बसिरहेका छन्। सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी आउँदा नेयमार पनि सोहि होटेलमा बसेका थिए।
बताइएअनुसार, ले रोयल मोनसेउ होटेल पाँच तारे होटेल हो। उक्त होटेल पूल, सिनेमा हल सहित विभिन्न सुविधाले सम्पन्न छ। फ्रेन्च खानाका लागि पनि चर्चित रहेको उक्त होटेलको एक रातको रातको भाडा चर्चामा छ। उक्त होटेलको भाडा एक रातको १७ हजार पाउण्ड रहेको बताइन्छ। उक्त रकम नेपाली रुपैंयाँमा २८ लाख भन्दा बढी हुन आउँछ।
पेरिसको सबैभन्दा शानदार र भीआइपी क्षेत्रमा अवस्थित उक्त होटेलमा मेस्सी केहि समयका लागि मात्र रहनेछन्। मेस्सी अहिले बस्नको लागि उचित घरको खोजिमा रहेको बताइन्छ।
केहि समय अगाडी मात्र अर्को लालिगा क्लब रियल म्याड्रिडबाट पिएसजी पुगेका सर्जियो रामोसले मेस्सीलाई होटेलमा भन्दा आफ्नो घरमा बस्न आग्रह गरेको खबर आएको थियो। रियलका पूर्व कप्तानले मेस्सीलाई पेरिसमा घर नकिनेसम्मको लागि आफ्नो घरमा बस्न सक्ने बताएका थिए।