मेस्सी मिस गर्दै बार्सिलोना समर्थक, यसरी गरे मेस्सीलाई सम्मान !

एजेन्सी – कोरोना महामारीका कारण झन्डै १७ महिनापछि बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा समर्थकमाझ खेल्न पायो । तर पहिलो खेलमा जित हासिल गर्दा अधिकांश समर्थकले भने मेस्सीको प्रस्थानबारे आफ्नो भावना पोखेका थिए ।

आइतबार रियल सोसीडाडविरुद्ध खेलमा २० हजार ३ सय ८४ समर्थकलाई मात्र प्रवेश दिइएको थियो । खेलको दशौं मिनेटमा मेस्सीकै सम्मानस्वरूप मैदानमा उपस्थित सबै दर्शकले ताली बजाएर मेस्सीलाई सम्मान दिएका थिए । यस बाहेक धेरै फ्यानले मेस्सीको नम्बर १० जर्सी लगाएर नै मैदानमा आएका थिए । मेस्सीको सम्मानमा थुप्रै ब्यानर पनि रहेको थियो ।

मेस्सीको सम्मान सँगसँगै केहि ब्यानर भने अध्यक्ष जोआन लापोर्टाको विरोधमा पनि थियो । ‘बार्सा यस, लापोर्टा नो’ लगायतका ब्यानरले रंगशालाबाहिर स्थान पाएका थिए । समर्थकले क्लबले मेस्सीलाई राख्न नसक्नुमा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ र लापोर्टालाई दोषी मानेका छन् ।

मेस्सीसँगै जेरार्ड पिकेको नाम लिँदा पनि समर्थकले खुब ताली पिटेका थिए । पिकेले आफ्नो तलबमा भारी कटौती गर्दै मेम्फिस डिपाए र एरिक गार्सियालाई दर्ता गर्न क्लबलाई सहज अवस्था सिर्जना गराएका थिए ।

प्रकाशित : सोमबार, साउन ३२, २०७८१५:०७

निर्णायक मोडमा एम्बाप्पे-रियल ट्रान्सफर, नयाँ घटनाक्रमले तरंग !