निर्णायक मोडमा एम्बाप्पे-रियल ट्रान्सफर, नयाँ घटनाक्रमले तरंग !

एजेन्सी – किलियन एम्बाप्पेको लागि यो हप्ता निर्णायक हुन सक्ने खबर आएको छ। स्पेनिस मिडिया मार्काका अनुसार यस हप्ता एम्बाप्पेको भविष्यलाई लिएर महत्वपूर्ण निर्णय हुन सक्छ।

एम्बाप्पेले यस अगाडी नै पेरिस सेन्ट जर्मेन (पिएसजी)मा सम्झौता सकिएपछि नबस्ने स्पष्ट पारिसकेका छन्। तर पिएसजीले एम्बाप्पेलाई कुनै पनि हालतमा फुत्किन नदिने रणनीति बनाएको छ। पिएसजीको रवाफलाई एम्बाप्पेले खासै सहज रुपमा लिएका छैनन्। जसरी पनि क्लबमै रोक्ने पिएसजीको हठले एम्बाप्पेलाई झनै रुष्ट बनाएको बताइन्छ।

पछिल्लो खबरका अनुसार एम्बाप्पेले क्लबका अध्यक्ष नासेर अल-खैलाइफीलाई भेट्ने भएका छन्। पटक-पटक एम्बाप्पेलाई कुनै पनि हालतमा फुत्किन नदिने बताउँदै आएका अल-खैलाइफी र एम्बाप्पे बीचको भेटले एम्बाप्पेको भविष्यको टुंगो लगाउनेछ।

अल-खैलाइफीसँगको भेटका क्रममा रियल म्याड्रिड ट्रान्सफरका लागि छलफल अगाडी बढाउन एम्बाप्पेले आग्रह गर्ने बताइन्छ। अर्को वर्ष आफू फ्री एजेन्टको रुपमा पिएसजी छाड्ने भन्दा पनि अहिलेनै ट्रान्सफर सम्भव गराउन खैलाइफीलाई आग्रह गर्ने एम्बाप्पेको तयारी रहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

१ सय ५० मिलियन युरो तिर्न तयार

आइतबार मात्रै एम्बाप्पेका लागि १ सय ५० मिलियन युरो तिर्न रियल म्याड्रिड तयार रहेको खबर आएको थियो। समर ट्रान्सफर विन्डो बन्द हुने केहि हप्ता मात्र बाँकी रहेको अवस्थामा एम्बाप्पेलाई भित्र्याउन १ सय ५० मिलियनको जोहो गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका थिए। एम्बाप्पेलाई भित्र्याउन रियलले गएको वर्ष देखि नै आफूलाई आर्थिक रुपमा तयार पार्दै आएकोमा अहिले आएर एम्बाप्पे माथि स्पष्ट बोलि लगाउने अवस्थामा रियल पुगेको हो।

एम्बाप्पे असन्तुष्ट

अर्जेन्टिनी स्टार फुटबलर पिएसजी पुगेपछि एम्बाप्पे सशंकित भएको बताइन्छ। नेयमार र मेस्सीको छायाँमा आफू पर्ने र त्यस्ल्से आफ्नो भविष्यलाई असर पार्ने उनको चिन्ता छ।

प्रकाशित : सोमबार, साउन ३२, २०७८१६:४५

लेजेण्डले देखाए पिएसजीको कमजोरी, यसो नभए मेस्सी-नेयमार-एम्बाप्पे भएर पनि चल्ने छैन जादू !