अध्यादेशको तीर मधेसतिर पनि, महन्थ ठाकुरलाई ठूलो राहत !

काठमाडौं : निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्ष पार्टीविहीन बनेको छ। उक्त समूहका १२ सांसदको पद के हुने भन्ने अन्योल छ। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्नुअघि उनै नेता ठाकुरसँग कुराकानी गरे। यो समाचार अन्नपुर्ण पोस्टमा प्रकाशित छ।

यो अध्यादेशले ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न सहज हुने उनीनिकट नेता बताउँछन्। यादव पक्ष भने अध्यादेशको विपक्षमा देखिएको छ।

‘उपेन्द्रजीसँग पार्टी एकता हुने सम्भावना सकिएको छ’, नेता केशव झाले अन्नपूर्ण पोस्ट्सित भने, ‘तर, अध्यादेशको विषयमा हाम्रो बैठकपछि मात्रै धारणा सार्वजनिक गर्छौं।’ यादव पक्षले मंगलबारको बैठकमा नबोलाएको झाले बताए।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे नयाँ दल गठन गर्न सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ। ‘हामीसँग ४० प्रतिशत छ’, झाले भने।

अध्यादेशका सबै प्रावधान हेरेपछि धारणा बनाउने नेता जितेन्द्र सोनलले बताए। ‘अध्यादेश संविधानविपरीत छैन’, सोनलले भने, ‘राजनीतिक रूपमा अहिले विषम परिस्थिति छ। अध्यादेश आउनु राम्रो कुरो हो।’ तर आधिकारिकताबारे सर्वोच्च अदालतबाट मुद्दाको छिनोफानो नभएसम्म आफूहरू जसपामै रहने उनले बताए।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८०८:४०

राष्ट्रपतिले अल्झाइन अध्यादेश !