प्रशिक्षणमै देखियो मेस्सी-एम्बाप्पे बीच गज्जबको तालमेल, नेइमार हुँदा टोली त बम हुने भयो [भिडियो सहित]

पेरिस सेन्ट जर्मेनले हालै एक भिडियो क्लिप साझा गरेको छ जसलाई देखेर क्लबका समर्थकको मन चंगा हुनसक्छ। पीएसजीले सार्वजनिक गरेको उक्त भिडियोमा एक प्रशिक्षण सत्रमा फ्रेन्च युवा स्टार खेलाडी किलियन एम्बाप्पेले अर्जेन्टिनी दिग्गज लियोनल मेस्सीको गोलमा सुन्दर तरिकाले असिस्ट प्रदान गरेका छन्।

उक्त भिडियो देखेर पीएसजी समर्थकले अनुमान लगाउन सक्छन् कि यस सिजनमा के-कस्ता दृश्य देख्न मिल्नेछ। बार्सिलोनामा २१ वर्षीय लामो बसाईपछि पीएसजी प्रस्थान गरेका मेस्सीले क्लबसँग २०२४ सम्म सम्झौता गरेका छन्। तर विश्व विजेता एम्बाप्पे भने यहि सिजन रियल म्याड्रिड जाने चर्चा पनि चलिरहेको छ। क्लबसँग २०२२ सम्म सम्झौता रहेका एम्बाप्पे क्लबमै बस्नेमा पीएसजी भने ढुक्क रहेको छ।

भविष्यमा जे भएता पनि हाल भने अर्जेन्टिनी र फ्रेन्च खेलाडी बीच राम्रो तालमेल भइसकेको प्रष्ट देख्न सकिन्छ। पीएसजीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियोले यसको पुष्टि गर्छ। उक्त भिडियोमा क्लबको प्रशिक्षणमा एम्बाप्पेले नयाँ टिममेटलाई गोल गर्न मद्दत गरेको देख्न सकिन्छ।

एम्बाप्पेले सुन्दर तरिकाले स्टेप-ओभर गर्दै डिफेन्डरलाई छक्याउँदै मेस्सीलाई पास दिएको भिडियोमा देख्न सकिन्छ। एम्बाप्पेबाट बल पाएका मेस्सीले निकै कुल तरिकाले गोलकिपरबाट पाखा लगाउँदै गोल गर्न सफल हुन्छन्। मेस्सी र एम्बाप्पे बीचको यस्तो तालमेल देखेर पीएसजी समर्थक निकै खुसी भएका छन्। यी दुई जोडीका साथमा अझ ब्राजिलियन स्टार नेइमार हुँदा अझ उत्कृष्ट तालमेल हुनेमा कुनै शंका नै छैन।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८११:०७

रोनाल्डोलाई यति सस्तो भाउमा किन्न पनि तयार भएन सिटी, १५० मिलियनमा केन किन्ने तयारी गर्दै !