युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो बारेमा गलत चर्चा फैलाएको भन्दै सञ्चार माध्यमहरुको कडा आलोचना गरेका छन्। रोनाल्डोले यहि सिजन इटालियन क्लब छाड्ने चर्चा निकै चलेको थियो। कहिले रियल म्याड्रिड, कहिले म्यानचेस्टर यूनाइट त कहिले पीएसजीसँग नाम जोडिएका रोनाल्डोका एजेन्टले पछिल्लो समय प्रिमियर लिग क्लब सिटीलाई न्यून मूल्यमा अफर गरेको रिपोर्ट पनि आएको थियो।
३६ वर्षीय स्ट्राइकरका एजेन्ट जर्जे मेन्डेस रोनाल्डोलाई २५ मिलियनमा अनुबन्ध गर्न अफर दिएको चर्चा पनि चलेको थियो। युभेन्टसले केहि समय अगाडीसम्म रोनाल्डो युभेन्टस मै रहने बताए पनि पछिल्लो समय भने क्लबले पनि रोनाल्डोलाई बेच्न चाहेको हल्ला पनि आएको थियो। तर रोनाल्डोले भने यसबारे केहि पनि बोलेका थिएनन्।
अन्तत स्वयम् रोनाल्डोले यसबारे मुख खोलेका छन्। मंगलबार आफ्नो इन्स्टाग्राम मार्फत एक पोस्ट गर्दै आफू सधैं आफ्नो काममा मात्र ध्यान दिने मानिस भएको र धेरै बोल्ने भन्दा काम गरेर देखाउने मानिस भएको बताएका छन्। पछिल्लो समय आफू बारे अनावश्यक चर्चा चलाएको र आफ्नो नाम प्रयोग गरेको पनि उनले बताए।
View this post on Instagram
सञ्चार माध्यममा यस्तो अनावश्यक हल्ला फैलाउनु एक खेलाडी र व्यक्तिका लागि अपमान भएको बताउँदै उनले लेखेका छन्,”मलाई जान्ने मानिस सबैलाई थाहा छ कि म सधैं आफ्नो काममा सपर्मण छु र पहिलो दिनबाट नै मेरो लक्ष्य भनेको कुरा भन्दा काम धेरै गर्नु हो। तर पछिल्लो समय मेरो बारेमा जे लेखिएको छ, त्यसको बरेमा मैले बोल्नै पर्छ। मेरो भविष्य बारे जसरी मिडियामा हल्ला फैलाईएको छ, त्यो कुनै पनि खेलाडी तथा मानिसको लागि अपमानजनक रहेको छ।”
५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोले आफ्नो नाम अनावश्यक रूपमा चर्चामा ल्याउने र आफ्नो नामसँग खेलवाड गर्नेलाई कडा चेतवानी समेत दिएका छन्। स्पेनिस क्लब रियल म्याड्रिडसँग आफ्नो यात्रा सकिएको बताउँदै उनले कतिपय सञ्चार माध्यमले आफ्नो नाम रियल म्याड्रिड तथा अन्य लिगका क्लबसँग जोडेकोमा आपत्ति समेत जनाएका छन्। उनले आफू युभेन्टससँग नै रहने पनि बताएका छन्।