एजेन्सी – ट्रान्सफर विन्डो बन्द हुन करिब दुई हप्ता मात्रै बाँकी छ। पछिल्लो केहि वर्ष देखि ट्रान्सफर विन्डो सबै भन्दा बढी चर्चामा रहने गरेका खेलाडी किलियन एम्बाप्पे अहिले पनि मूख्य आकर्षण बनिरहेका छन्। एम्बाप्पे अहिले स्पेनिस महारथी रियल म्याड्रिडको नजरमा छन्। रियलले एम्बाप्पे जसरी पनि एम्बाप्पेलाई भित्र्याउने योजना बनाएको छ।
एम्बाप्पेलाई भित्र्याउन रियलले गरेका कुनै पनि प्रयास अहिले सम्म सफल हुन सकेका छैनन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)ले कुनै पनि प्रस्तावमा चासो नदिँदा एम्बाप्पेको ट्रान्सफर सम्भव हुन नसकेको ट्रान्सफर मार्केटका जानकारीहरु बताउँछन्।
पिएसजीले एम्बाप्पेलाई जसरी पनि क्लबमै अड्याउने रणनीति बनाएको छ। तर, एम्बाप्पे भने पिएसजीमै लामो समय बस्ने पक्षमा छैनन्। अर्को वर्ष सम्झौता सकिने हुँदा उनले अहिले नै अन्यत्र जाने चाहना राखिरहेका छन्।
एम्बाप्पेलाई भित्र्याउने प्रयास लगातार असफल भएपछि रियलले आफ्नो ध्यान अन्तै मोड्न सक्ने देखिएको छ। स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार एम्बाप्पे भित्र्याउन सम्भव नभएको खण्डमा रियलले एर्लिङ हालाण्ड भित्र्याउने प्रयास गर्न सक्छ।
खेलाडी किन्न रियलसँग २ सय मिलियन युरो सम्मको कोष रहेको स्पेनिस मिडियाहरु दावी गर्छन्। एम्बाप्पेलाई पिएसजीले बिक्री नगरे उनी अर्को सिजन फ्री एजेन्टको रुपमा रियल आउन सक्ने हुँदा रियलले यसै सिजन हालाण्डमा लगानी गर्न सक्छ।
लगातार चर्चा हालाण्डको
बोरुसिया डर्टमण्डका एर्लिङ हालाण्ड एम्बाप्पे जति नै चर्चाको केन्द्रमा छन्। डर्टमण्डमा उनी जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले युरोपका सबै भन्दा ठूलो मानिएका क्लबहरुको ध्यान तानेको छ। केहि समय अगाडी हालाण्डलाई चेल्सीले टार्गेट बनाएको थियो। तर, उसको प्रयास सफाल भएको थिएन।
डर्टमण्डले हालाण्डको मूल्य धेरै उच्च तोकेको थियो। जसकारण चेल्सी एकाएक ब्याक भएको थियो। अहिले हालाण्डमा रियलको नजर परेको छ। एम्बाप्पे भित्र्याउन सम्भव नभएको खण्डमा हालाण्ड भित्र्याउने कुराले रियल भित्र व्यापकता पाएको छ।