प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उनीहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।
देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छिन् । उनलाई नेकपा एमाले संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उहाँ मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।
नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छिन् ।