ब्यालुन डी ओर २०२१ को दौड समय साथ साथै तातिंदै गएको छ। पीएसजीका नयाँ अनुबन्ध लियोनल मेस्सीको लागि यो वर्ष निकै सुखद रह्यो। कोपा अमेरिका उपाधि जितेसँगै ३४ वर्षीय स्ट्राइकर ब्यालुन डी ओर अवार्डका प्रमुख दाबेदारका रूपमा अगाडी आएका छन्।
धेरैको नजरमा मेस्सी सातौँ पटक ब्यालुन डी ओर जित्न योग्य छन्। तर जोन टेरी र पौल पोग्बाको नजरमा भने मेस्सी नभएर चेल्सी स्टार एन्गोलो कान्ते यस पटकको ब्यालुन डी ओर जित्न सबैभन्दा योग्य रहेका छन्। गत सिजन चेल्सीले च्याम्पियन्स लिग उपाधि जित्दा कान्तेको भूमिका प्रमुख रहेको थियो। यस्तोमा, उनका फ्रान्सेली टिममेट पोग्बाले च्याम्पियन्स लिग फाइनल अगाडी नै चेल्सीले उपाधि जितेको खण्डमा कान्तेले ब्यालुन डी ओर जित्नु पर्छ।
युरोस्पोर्टसँग बोल्दै पोग्बाले भने,”हामीले उनको प्रदर्शन बारे धेरै कुरा गर्छौं तर उनले सधैं उत्कृष्ट खले खेल्छन्। मैले धेरै अगाडीबाट भन्दै आएको छु कि त्यसको तारिफ गर्नुपर्छ। यदि चेल्सीले जित्यो भने कान्ते ब्यालुन डी ओर जित्न योग्य हुनेछन्।”
पोग्बाको यस्तो धारणामा पूर्व चेल्सी कप्तान जोन टेरी पनि समहती जनाउँछन्। स्टेडियम एस्ट्रोसँग कान्ते किन ब्यालुन डी ओर जित्न योग्य छन् भन्ने विषयमा उनले भने,”कान्ते एक्लै नै ११ खेलाडीको बराबर छन्। उनले जे गर्छन् त्यसको त्यति चर्चा हुँदैन। उनी विश्व स्तरीय खेलाडी हुन्। म उसले ब्यालुन डी ओर जितेको र प्रशंसा पाएको हेर्न चाहन्छु, जसको उनी योग्य छन्।”