काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।
निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भने , “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।”
कार्यक्रममा अध्यक्ष ओलीका श्रीमती राधिका शाक्य, सांसद कृष्णगोपाल श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।