एजेन्सी – फ्रेन्च युवा स्टार फुटबलर किलियन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडको प्राथमिकतामा रहेको कुरा सबैलाई थाहा छ। एम्बाप्पे भित्र्याउने रियलको योजना धेरै पूरानो हो। गएको केहि वर्ष देखि रियलले एम्बाप्पेलाई भित्र्याउने प्रयास गरिरहेको छ। तर, अहिले सम्म रियलको प्रयास सफल हुन भने सकेको छैन।
पिएसजीसँगको सम्झौता सन् २०२२ मा सकिने हुँदा अहिले नभए सम्झौता सकिएपछि एम्बाप्पेलाई भित्र्याउने रियलको तयारी रहेको छ। सम्झौता सकिएपछि एम्बाप्पे फ्री एजेन्टको रुपमा स्पेन नै आउनेमा रियल म्याड्रिड ढुक्क जस्तै छ।
तर, एम्बाप्पे भित्र्याउने दौडमा नयाँ ट्वीस्ट आएको छ। अहिले सम्म एम्बाप्पेमा खासै चासो नदेखाएको इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि एम्बाप्पेलाई प्राथमिकतामा राख्ने भएको छ।
ईएसपीएनको एक रिपोर्टका अनुसार फ्री ट्रान्सफरमा उपलब्ध भएको खण्डमा एम्बाप्पे माथि म्यानचेस्टर युनाइटेडले पनि बोलि लगाउनेछ। म्यानचेस्टर युनाइटेडले मुख्य टार्गेटको रुपमा एम्बाप्पेलाई पहिचान गरेको ईएसपीएनको दावी छ।
एम्बाप्पे माथि रियलको नजर रहेको कुरा राम्रोसँग बुझेको युनाइटेडले एम्बाप्पे फ्री ट्रान्सफरमा उपलब्ध हुँदा हदै सम्मको प्रयास गर्ने रणनीति बनाएको ईएसपीएन दावी गर्छ। एम्बाप्पे भित्र्याउन सम्भव नभएको खण्डमा एर्लिङ हालाण्ड, ह्यारी केन अथवा लाउतारो मार्टिनेज मध्ये एक जना भित्र्याउने युनाइटेडको योजना छ।