पेरिस । फ्रेन्च क्लब पीएसजीले यो समर सिजनमा खेलाडीका लागि सात करोड ६० लाख युरोमात्रै खर्च गरेको छ । चर्चित खेलाडी लियोनल मेसी, जियानलुइगी डनारुमा, सर्जियो रामोस र जर्जिनियो विज्नाल्डुम सबै क्लबमा शुल्कविनै आइपुगेका हुन् । ड्यानिलो १ करोड ६० लाख युरोमा र अस्रफ हाकिमी ६ करोड युरोमा क्लबले भित्र्याएको छ। तर कमाइभन्दा धेरै खर्च गर्न नपाउने ‘फाइनान्सियल फेयर प्ले’ले क्लबलाई पछ्याइरहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
नयाँ खेलाडीको ठूलो तलबराशिको कारण पनि पीएसजीले धेरै खेलाडीलाई ट्रान्सफर गर्ने समय बन्द हुनुअघि नै बेच्न चाहेको हो । ली पेरिसियनका अनुसार क्लबले अहिलेलाई कम्तीमा पनि पाँच खेलाडीलाई बेच्न चाहेको छ । तीमध्ये आकर्षित गर्नसक्ने खेलाडी छन् दियो कहरर। २४ वर्षीय सेन्ट्रल डिफेन्डरलाई ट्रान्सफरमार्क्टले दुई करोड ५० लाख युरो मूल्यांकन गरेको छ । उनीपछि क्रमशः माक्र्विनोज, प्रेस्नल किम्पेम्बे र रामोस आउँछन् ।
त्यस्तै, पाब्लो सराबिया युरो २०२० मा स्पेनका लागि सुरुवाती मौका पाउनेमा थिए । उनले पनि क्लब छोड्न सक्ने बताइएको छ । उनको मूल्य पनि साढे २ करोड युरो छ । उनी ३० वर्ष पुग्न लागे पनि महंगो मूल्यांकनमै परेका छन् । यसबाहेक जुलियन ड्राक्सलर पनि पीएसजीको नियमित खेलाडी बन्न सकेका छैनन् । उनको मूल्य दुई करोड युरो छ । उनी चार वर्षदेखि पीएसजीमै छन् । त्यस्तै राफिन्हा र लाविन कुज्र्वावालाई पनि अगस्ट ३१ अगाडि नै बेच्न चाहेको बताइएको छ ।