एजेन्सी – कुनै पनि फुटबल क्लब भन्दा ठूलो खेलाडी हुन सक्दैनन्। विभिन्न समयमा यो पुष्टि पनि भइसकेको छ। कुनै पनि एक खेलाडीले छाड्दैमा क्लब सधैंका लागि कम्जोर हुँदैन। ठूला भन्दा ठूला खेलाडीले क्लब छाड्दा त्यसको असर केहि वर्ष सम्म पनि रहन सक्छ। तर समय सँगै नयाँ खेलाडीको उदय हुन्छ र त्यो अभाव हटेर जान्छ।
अहिले गर्विलो इतिहाँस बोकेको बार्सिलोना वर्तमान अवस्थामा अत्यन्त कठिन अवस्थासँग जुधिरहेको छ। गएको डेढ दशक भन्दा बढी समय देखि क्लबलाई काँधमा बोकेका दिग्गज खेलाडी लियोनेल मेस्सीको बहिर्गमनले बार्सिलोनालाई पार्न सम्म असर पारेको छ।
मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) जाँदा बार्सिलोनाले एक उत्कृष्ट खेलाडी मात्र गुमाएको छैन, ठूलो बजार पनि गुमाएको छ। खास भन्नुपर्दा मेस्सी आफैंमा एक ब्राण्ड हुन्। मेस्सीले छाड्दा बार्सिलोनालाई आर्थिक रुपमा कति घाटा पुग्यो भन्न अहिले नै गार्हो होला। तर, बार्सिलोनालाई ठूलै नोक्सान भएको जानकारीहरु बताउँछन्। मेस्सीको बहिर्गमनले बार्सिलोनाको ब्राण्ड भ्यालु ११ प्रतिशत सम्म घटेको प्रारम्भिक रिपोर्टहरु आएका छन्।
मेस्सीको बहिर्गमनले सबै भन्दा धेरै असर प्रायोजनमा पार्न सक्ने अनुमान गरिन्छ। ठूला-ठूला प्रायोजकहरु मेस्सी देखेर बार्सिलोना तर्फ आकर्षित भएको भएपनि आउने समयमा ती प्रायोजकहरुले साथ छाड्न सक्ने सम्भावना पनि कायमै छ।
प्रायोजकहरुलाई क्लबमा टिकाइराख बार्सिलोनाले आउने समयमा धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। फुटबल विश्लेषकहरुका अनुसार प्रायोजकहरुलाई टिकाउन बार्सिलोनाले धेरै उपाधिहरु जित्नुपर्ने हुन्छ। सबै भन्दा महत्वपूर्ण बार्सिलोनाले च्याम्पियन्स लिग जित्नुपर्ने हुनेछ। बार्सिलोना अब प्रायोजकहरुलाई आकर्षित गर्न एक खेलाडीको मात्र भर परेर पुग्ने अवस्थामा छैन।
एक रिपोर्टका अनुसार, बार्सिलोनाको कुल आम्दानीको एक तिहाई भन्दा बढी आम्दानीमा मेस्सीको योगदान हुन्थ्यो। मेस्सीको बहिर्गमनसँगै अब क्लब अध्यक्ष जोआन लापोर्टा आम्दानीलाई स्थिर राख्ने प्रयत्नमा हुनेछन्, जुन सहज देखिँदैन।
राकुटेनलाई लिएर तनाव
बार्सिलोनाको मूख्य प्रायोजकले हात झिक्न सक्ने अवस्था बारे पनि फुटबल वृत्तमा अहिले चर्चा भइरहेको छ। बार्सिलोना र राकुटेन बीचको सम्झौता सन् २०२२ जुन सम्मका लागि छ। क्लबका मूख्य आकार्षण मेस्सीले छाडिसकेको अवस्थामा राकुटेनले पनि बार्सिलोनाको साथ छाड्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। यदि त्यस्तो भएको खण्डमा बार्सिलोनाले अरु प्रायोजक खोज्नुपर्ने हुन्छ।