काठमाडौँ – बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई धोका नदिएको बताएकी छन्। माधव नेपालले नयाँ पार्टी गठन गर्दा नेकपा एमालेमै रहेर मुख्यमन्त्री बनेकी शाक्यले शनिबार माधव नेपाललाई आफूले धोका नदिएको बताएकी हुन्।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा शाक्यले आफू माधव नेपालकै पक्षमा रहेको बताइन्। आफू माधव नेपाल र केपी शर्मा ओलीको समर्थनमा मुख्यमन्त्री बनेको उनको भनाई छ। मुख्यमन्त्री पद पाएपछि आफूले माधव नेपालको साथ छाडेको भन्दै चलेको हल्लालाई शाक्यले सिधै खारेज गरिन्।
“म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ। सहमति छ। अनि बाहिरबाहिर कुरा आउँछ, अष्ट त के-के भयो, के-के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो।”,उनले भनिन्।
शाक्यले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सबैले ध्यान दिनुपर्ने बताइन्। केहि समयमै एमाले एकढिक्का भएर अगाडी बढ्ने विश्वास पनि शाक्यले व्यक्त गरिन्।