भावनाहरुको रोलरकोस्टरमा एम्बाप्पे र #FreeMbappe अभियान !

एजेन्सी – फ्रेन्च लिग वान नयाँ सिजनको तेस्रो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्रेस्टको सामना गर्यो। उक्त खेलमा पिएसजी स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सी बिना नै उत्रिएको थियो।

मेस्सी र नेयमार नभएका कारण सबैको ध्यान युवा स्टार किलियन एम्बाप्पेमा थिए। अगाडीका खेलहरुमा पनि चम्किएका एम्बाप्पे ब्रेस्ट विरुद्ध पनि चम्किए। एम्बाप्पेले एक गोल गरे।

ब्रेस्ट विरुद्धको खेलमा एम्बाप्पे खेलको केन्द्रमा मात्र रहेनन्, उनलाई क्यामेराले लगातार पछ्याइरह्यो। एम्बाप्पेलाई टेलिभिजनमा जुम गरेर घरी-घरी देखाइएको थियो।

एम्बाप्पेका हरेक तस्विर तथा दृश्य सामाजिक संजालमा बहसका विषय बने। एम्बाप्पे प्रफुल्ल मुद्रामा देखिँदा एम्बाप्पे पिएसजीमै खुशी छन् र पिएसजीमै बस्छन् भनेर चर्चा गरियो। त्यस्तै एम्बाप्पे निराश भएको तस्विर देख्दा पिएसजीका समर्थक पनि निराश भए। एम्बाप्पे निराश भएको देख्दा धेरैले एम्बाप्पेले अब पिएसजी छाड्छन् भन्ने अनुमान गरे।

खेलको शुरुवात देखि नै एम्बाप्पे हावी भए। एम्बाप्पे दायाँ-बायाँ सँगै बीचमा पनि छाए। स्वतन्त्र रुपमा खेल्न पाएका एम्बाप्पेले आफ्नो प्रभाव देखाए। ३६औं मिनेटमा एम्बाप्पेले आफ्नो कला देखाए। उनले हेडमार्फत गज्जबको गोल गरे। गोल गरेपछि उनी खुलेर रमाए। खेलको दोस्रो हाफमा एम्बाप्पेले पहेंलो कार्ड पाए।

त्यति मात्र नभई एम्बाप्पे खेल सकिनु अगाडी नै फर्काइए। प्रशिक्षक मौरिसियो पोचेटिनोले एम्बाप्पेलाई फिर्ता बोलाए। त्यसक्रममा पनि एम्बप्पे क्यामरा फोकसमै रहे। बेन्चमा पुग्ने बितिकै उनको अनुहारको हाउभाउ परिवर्तन भयो। एम्बाप्पे निराश देखिए। उक्त दृश्य सामाजिक संजाल केहि समयमै भाइरल भयो। सामाजिक संजालमा #FreeMbappe भन्दै एक अभियान पनि ट्रेन्ड भयो।

बताइएअनुसार, एम्बाप्पे पिएसजी छाडेर रियल म्याड्रिड जान चाहिरहेका छन्। तर पिएसजीले उनलाई बिक्री गर्न मानिरहेको छैन। एम्बाप्पेलाई बन्धक जस्तै बनाइएको भन्दै रियलका समर्थक तथा एम्बाप्पेका समर्थकहरुले सामाजिक संजालमा #FreeMbappe अभियान चलाएका हुन्।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१८:५०

बार्सिलोना भर्सेस बिल्वाओ: कसले मार्ला बाजी ?